काठमाडौँ – जनआन्दोलन दिवस तथा विसं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सम्झनामा आज मंगलबार काठमाडौंमा दीप प्रज्वलन तथा चियापान’ कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घ काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र स्थापनामा स्वर्गीय गणेशमान सिंहसँगै नेपाल विद्यार्थी सङ्घको समेत महत्वपूर्ण भूमिका रहेको बताए । “संविधानलाई संस्थागत रुपमा विकास गर्न नेविसङ्घको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने ।
नेता सिंहले विसं २०४६ को जनआन्दोलन स्व गणेशमान सिंहको नेतृत्वमा भएको बताउँदै स्व सिंह मुलुककै नेता भएको उल्लेख गरे । काङ्ग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने नेता भएको बताए । काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्व सिंह लोकतन्त्रको रक्षाका लागि सधै चिन्तित हुने नेता भएको बताए । रासस




प्रतिक्रिया