काठमाण्डु – राष्ट्रिय जनगणना–२०७८ सुरू भएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति कार्यालय शितल निवासबाट जनगणना सुरु गरेको हो ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बिहान साढे बजे राष्ट्रपति विद्यादेवी भण्डारीको लगत लिएर जनगणना सुरू गरेका हुन् । राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण महानिर्देशक श्रेष्ठ आफैंले लिएका थिए । उनले राष्ट्रपतिको नाम, उमेरलगायतका विवरण सोधेका थिए ।
राष्ट्रपतिको लगत लिनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल, आयोगका सचिव केवल भण्डारीसहितको टोली शितल निवास पुगेको थियो ।
के–के विवरण लिइन्छ ?
–तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ? (अन्य लिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति भन्ने बुझिन्छ ।)
–तपाईं बसोबास गर्नु भएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ? (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ ।)
–तपाईंले उपभोग गरेको कृषि योग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या कति छ ?
–तपाईंको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ/छैन ।
–तपाईंको घरमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ ?
–तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन् ?
–तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ ?





प्रतिक्रिया