जनैपूर्णिमाको साइत साढे १ बजे पछि, सर्वसाधारणले जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने (विज्ञप्तिसहित)

जनैपूर्णिमाको साइत साढे १ बजे पछि, सर्वसाधारणले जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने (विज्ञप्तिसहित)


काठमाण्डु-जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन गर्न नेपाल पञ्चांग निर्णायक समितिले आग्रह गरेको छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा. डा. देवमणि भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिकका हकमा उक्त दिन के गर्ने भनेर द्विविधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको जनाएका हुन् ।

समितिले भदौ ३ गते सोमबार सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त जनाएको छ ।

भदौ ३ गते साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भएपनि रक्षाबन्धन लगायत जनै पूर्णिमासम्बन्धी कर्म गर्दा हानी हुने बताइएको छ ।

‘भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घन्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘भद्रामा श्रावणीसम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवम् शहरको नाश हुन्छ भन्ने विषय शास्त्रमा स्पष्ट उल्लेख छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।

त्यसैले, राष्ट्र प्रमुखले भने उक्त दिन साढे १ बजेपछि मात्रै जनैपूर्णिमा र रक्षा बन्धनको कार्य गर्न भनिएको छ । रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुने पनि समितिले जनाएको छ ।