जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।

जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डप लगायतका स्थानहरूमा दिनरात सरसफाइ, सजावट, स्टेज निर्माणका कार्यहरू भइरहेको छ ।

बिहीबारदेखि सुरु हुन लागेको ७ दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरू सक्रिय रूपमा काम गरिरहेका छन् ।

जानकी मन्दिरले अगुवाइ गर्दै आएको विवाहपञ्चमी महोत्सवका लागि प्रत्येक वर्षझै यस वर्ष पनि विभिन्न समितिहरू गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरू तोकिएको छ ।

भारतको अयोध्याबाट आउने बाराती, साधु सन्त र श्रद्धालुहरूको स्वागतदेखि, विश्राम गर्ने, खाने र घुम्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाउन फरक–फरक समितिहरूलाई जिम्मेवारी दिइएको छ । मन्दिर सजावट, पिउने पानीको व्यवस्था, बिजुलीबत्ति, लाइट, साउण्ड, सुरक्षा, ट्राफिक व्यवस्थापन लगायतको जिम्मा सम्बन्धित निकायहरूलाई नै दिइएको छ ।

जानकी मन्दिर प्राङ्गणमा हुने कार्यक्रमहरूका लागि जानकी मन्दिरले आफैं सम्पूर्ण व्यवस्था मिलाएको छ । स्वयम्बरका लागि बाह्रविघा मैदानको सरसफाइ, खाल्डो भर्ने, पण्डाल निर्माण लगायतको व्यवस्थापनको जिम्मा जनकपुरधाम उपमहानगरपालिकाले लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले यस वर्ष बाह्रविघा मैदानमा शौचालय, सुरक्षा, विश्रामस्थल, उपचार कक्ष लगायतको व्यवस्थामा विशेष ध्यान दिइएको बताए । उनले आउँदो वर्षमा बाह्रविघा मैदानमा स्थायी रुपमै स्टज, शौचलयहरूको व्यस्थापन हुने जानकारी दिए ।

यता जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले १० लाखभन्दा बढी श्रद्धालुभक्तजन तथा हजारौं पर्यटकहरू विवाहपञ्चमी महोत्सव हेर्न आउने ठाउँमा मधेश प्रदेश सरकारले शून्य लगानी गरेकोमा गुनासो व्यक्त गरे । उनले प्रदेश सरकारले गत वर्ष स–साना कार्यहरू गरे पनि यस वर्ष भने विवाहपञ्चमीको १ दिन मात्र बाँकी रहँदासम्म कुनै किसिमको सहयोगका लागि समन्वय गर्न नआएकोमा गुनासो गरेका छन् ।

छोटे महन्थ दासले देशको राजनीतिक अवस्था स्थिर नरहेकाले विवापञ्चमीलाई ध्यानमा राखेर कुनै किसिमको बन्द, अवरोध जस्ता क्रियाकलाप नगर्न आग्रह गरे । उनले विवाहपञ्चमी हेर्न आउने भक्तजन तथा पर्यटकहरूको स्वागत गरिदिन सबैलाई आग्रह गरेका छन् ।

विवाहपञ्चमी महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार पहिलो दिन नगरदर्शन रहेको छ । शुक्रबार शुक्रबार, फूलबारी लिला, शनिबार धनुष यज्ञ, आईतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयमवर तथा विवाह महोत्सव र बुधबार अन्तिम दिन रामकलेवा रहेको छ । यस वर्ष १० लाखभन्दा बढी श्रद्धालु भक्तजन विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने आकलन गरिएको छ ।