काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनुषास्थित रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रका गुठी जग्गाको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण हटाउने उद्देश्यले ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ ।
मन्त्रालयले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ–मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका विभिन्न प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिन समिति गठन गरिएको जनाएको छ ।
समितिले उच्चस्तरीय कार्यदल, २०६२ को प्रतिवेदन, सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदन तथा गुठी जग्गासम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका सुझाव र सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।
मन्त्रालयका अनुसार समिति गठनसँगै विगतका प्रतिवेदनको अध्ययन, आयोग तथा कार्यदलले दिएका सुझावको प्रभावकारी कार्यान्वयन गर्दै बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका गुठी सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई थप सुदृढ बनाइने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया