जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण सुरु

जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुर साहित्य महोत्सवको सातौं संस्करण शुक्रबार जनकपुरधाममा सुरु भएको छ।

महेन्द्र नारायण निधि सभाहलमा आयोजित कार्यक्रमको मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले उद्घाटन गरे ।

त्यस अवसरमा महोत्सवका परिकल्पनाकार तथा संघीय सांसद मनिष झाले साहित्य र समाजबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्धिक बहसको साझा मञ्च निर्माण गर्ने उद्देश्यले महोत्सवको थालनी गरिएको बताए ।

उनले महोत्सवले नयाँ पुस्तामा साहित्यप्रति रुचि बढाउनुका साथै स्थानीय पहिचान, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नव मिथिला फाउन्डेसनको आयोजनामा भइरहेको महोत्सवबारे जानकारी दिँदै फाउन्डेसनका अध्यक्ष अमित साहले महोत्सवलाई मधेशको बौद्धिक विमर्शको महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।

उद्घाटन कार्यक्रममा उद्योगपति उपेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महोत्सवको सञ्चालन कला तथा साहित्य क्षेत्रमा परिचित नाम धिरेन्द्र प्रेमर्षीले गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सव अवधिभर संस्कार, संस्कृति, धरातलीय साहित्य, शिक्षा, खेलकुद, राजनीति तथा परराष्ट्र नीति लगायत समसामयिक र बहुआयामिक विषयहरूमा विचार–विमर्श, अन्तरक्रिया र छलफल कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।

साहित्यप्रेमी, विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको महोत्सवले जनकपुरलाई पुनः एकपटक साहित्यिक राजधानीका रूपमा चिनाउने विश्वास आयोजकको रहेको छ।