काठमाण्डु – जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै जैन जी आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म पठनपाठन बन्द गरिएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ।’
नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा सडकमा उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा परेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ।
यस्तै, शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गर्दै अवस्था सामान्य भएमा चाँडै पठनपाठन सुरु गरिने जनाइएको छ।




प्रतिक्रिया