मधेश प्रदेशमा जनमतको मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले सहयोग गर्ने

मधेश प्रदेशमा जनमतको मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारमा जनमत पार्टीलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकले मधेश सरकारमा जनमतलाई सघाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको वर्तमान सरकारबाट बाहिरिँदै नेकपा एमाले सहितका दलसँग नयाँ सरकार बनाउने निर्णय एकीकृत समाजवादी पार्टीले गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले बताए ।

मंगलबारै प्रदेश संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्ने तयारी छ । पार्टीबाट वर्तमान सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका संसदीय दलका नेता गोविन्द न्यौपाने, श्रम तथा यातायात मन्त्री बेची लुंगेली छन् ।

काठमाण्डुमा रहेको उनीहरूसहित प्रमुख सचेतक कनिस पटेल लगायतका नेताहरू औपचारिक निर्णय गर्न काठमाण्डुबाट जनकपुर हिँडेका छन् ।

यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीसँगै भोलि बुधबार विश्वासको मत लिनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना रहेको जसपा नेपालका एक नेताले बताए । मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको निर्णय कुरेर बसेको उनले बताए ।

मधेश प्रदेशमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित ३ दलले लिखित सहमति गरिसकेका छन् । यद्यपि माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भइरहेको थियो ।

एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये १ दलको समर्थन अनिवार्य छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ ।

एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।