सङ्घीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता

सङ्घीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाले गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रस्ताव दर्ता गराएको छ । पार्टीका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले सङ्घीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएकी हुन् ।

सो अवसरमा उक्त पार्टीका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु उपस्थित थिए । सङ्घीयताका सम्बन्धमा संविधानको अन्तरवस्तुसँगै विमति राख्दै आएको राष्ट्रिय जनमोर्चाले सङ्घीयतासँग सम्बन्धित प्रादेशिक संरचनाका प्रावधान र त्यससम्बन्धी अनुसूचीसमेत खारेजीको माग गर्दै विधेयक दर्ता गराएको सांसद पौडेलले जानकारी दिइन् ।

‘स्थानीय तहलाई बलियो बनाउनुुपर्छ, प्रदेशिक संरचना आवश्यक छैन, यसले धान्नै नसक्ने व्ययभार बढाएको छ’, उनले भनिन्, ‘विकेन्द्रीकरणमा आधारित एकात्मक शासन व्यवस्था नै हाम्रो देशको आवश्यकता हो ।’

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको वास्तविक नक्सालाई निशानछापमा समावेश गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ भनी पार्टीको वक्तव्य जारी भएको होइन ? भन्ने प्रश्नमा उनले भनिन्, ‘निशानछापको पक्षमा पार्टीको धारणा त्यही नै हो, यो विषयलाई एउटै एजेण्डा बनाएर छिनोफानो गर्नुपर्छ, अरुमा मिसाउन हुन्न भन्ने पार्टीको अडाउन उही नै छ ।’

राष्ट्रियता र सार्वभौमसँग जोडिएर आएको संविधान संशोधनलाई बिना शर्त टुङ्ग्याउनुपर्नेमा केही दलले नागरिकता प्राप्ति, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व र भाषाजस्ता मुलुकको हित विपरीत खतरनाक प्रश्न उठाएर संविधान संशोधन प्रस्ताव दर्ता गरेका कारण आफ्नो पार्टीले पनि विगतदेखि उठाउँदै आएका विषयलाई स्थापित गर्न संशोधन प्रस्ताव दर्ता गराएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नक्सा प्रकाशित गरी सरकारले नेपालको वास्तविक भूभाग समेटिएको उक्त नक्सा निशानछापमा समावेश गर्न नेपालको संविधान दोस्रो संशोधन विधेयक यही जेठ ९ गते सङ्घीय संसद्‍मा दर्ता गराएको थियो ।

यसअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी -राजपा_ले एकीकृतरुपमा गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गराएको छ। नेपाली काँग्रेसका केही सांसदले पनि संविधान संशोधन विधेयक दर्ता गराउनुभएको छ। सरकारले प्रस्तुत गरेको संविधान दोस्रो संशोधन विधेयक जनताको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन भइसकेको छ । रासस