काठमाण्डु – भनिन्छ राजनीतिमा असम्भव केही हुँदैन । पत्याउनै नसकिने कुरा पनि राजनीतिक रंगमञ्चमा हुन्छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै नाटक मञ्चन गरे । जसमा परस्पर विरोधी खेमाबीच पार्टी एकता भएको छ ।
प्रचण्डकी बुहारी तथा पूर्व मन्त्री बिना मगरको क्षेत्र कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका नेता लोकेन्द्रबहादुर लम्साल नेतृत्वको नेकपा मसाल सम्पर्क केन्द्रले माओवादीसँग पार्टी एकीकरण गरेको छ । तर पार्टी एकतालाई उनकै क्षेत्रका स्थानीय नेता कार्यकर्ताले अस्वाभाविक बनाएका छन् ।
माओवादी आन्दोलन अप्ठ्यारोमा रहेको बेला नेता लम्सालले ५ जना कार्यकर्ताको हत्या हुने गरी भूमिका खेलेको तीतो यथार्थ कञ्चनपुरका नेता कार्यकर्ता बिर्सिन सक्दैनन् । त्यही यथार्थलाई बिर्सेर प्रचण्डले नेता लम्साललाई माओवादीमा स्वागत गरेका छन् ।
माओवादीले जनयुद्धका नाममा हिंसात्मक द्वन्द्व चलाइरहेका बेला नेता लम्साल त्यसको घोर विरोधी थिए । लम्सालकै अगुवाइमा विना मगरको गृहनगर पुनर्वासमा ‘माओवादीविरुद्ध अभियान’ समेत चल्ने गरेको एक स्थानिय कार्यकर्ताले बताए ।
२०६१ सालतिरको त्यो हत्याकाण्ड
कञ्चनपुरको तत्कालीन शंकरपुरमा नेकपा माओवादीले स्थानीय कल्याण केसीको जग्गा कब्जा गर्ने कार्यक्रम राख्यो । माओवादी नेता खगराज भट्टको उपस्थितिमा पार्टीको झण्डा गाडेर जग्गा कब्जा गर्न गाउँगाउँबाट मान्छे ल्याइयो तर नेता भट्ट कार्यक्रममा आएनन् ।
नेता भट्ट कार्यक्रममा नआएपछि स्थानीय सहभागीले असन्तुष्टि व्यक्त गरे । भट्टको अनुपस्थितिमै माओवादीले केसीको जग्गामा झण्डा गाड्यो । माओवादीले बैलगाडा र ट्याक्टरमा राखेर मान्छे ल्याई झण्डा गाड्ने कार्यक्रम गरेपनि ल्याएका मान्छेलाई घरसम्म पु¥याएन ।
एकातिर नेता भट्ट नआएको असन्तुष्टि र अर्काेतिर कार्यक्रममा ल्याएर अलपत्र पारेको असन्तुष्टि सहभागीमा देखियो । माओवादीप्रति स्थानीय आक्रोशित बने । स्थानीय नेताले अर्काे दिन नेता भट्ट नै आएर जवाफ दिने वचन दिए । तर अर्काेदिन पनि नेता भट्ट आएनन् ।
शंकरपुरको कार्यक्रमका लागि माओवादीले पुनर्वास र बेलौरी क्षेत्रबाट समेत मान्छे लगेको थियो । माओवादीको व्यवहार र कार्यशैलीले ती मान्छेहरू आक्रोशित थिए । यस्तै आक्रोशमा भूमिका खेले नेता लम्सालले । लम्सालले स्थानीयहरू माओवादीविरुद्ध झन् आक्रोशित हुने गरी भाषण गरेको स्थानीय माओवादी नेताहरू बताउँछन् ।
नेता लम्सालको घर बेलौरीमा भएपनि उनी ससुराली पुनर्वासमा बस्दै आएका थिए । लम्सालले पुनर्वासका जनतालाई आक्रोशित बनाउँदै भाषण गरेपछि ‘आगोमा घ्यू हाल्ने काम भएको’ बताइन्छ । त्यसपछि आक्रोशित स्थानीयले ५ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए ।
कार्यकर्ताको हत्या भएपछि माओवादीले लम्सालसहित जनमोर्चाका नेतालाई ‘मृत्युदण्ड’ दिने कागजी निर्णय गरेको थियो । मृत्युदण्ड दिने निर्णयमा माओवादीले कृष्ण तामाङ, रामचन्द्र नेपाल लगायतको नाममा पनि राखेको थियो । माओवादीले मृत्युदण्ड दिने निर्णय गरेपछि लम्साल घर छाडेर भागेको र त्यसपछि मात्र धेरैपछि घर फर्केको माओवादी नेताहरू बताउँछन् ।
जनमोर्चामा विवाद भएपछि माओवादी प्रवेश
राष्ट्रिय जनमोर्चामै रहेर लामो समय राजनीति गरेपनि पार्टीमा विवाद भएपछि लम्सालले नेकपा मसाल सम्पर्क केन्द्र नामक अभियान चलाए । पार्टीमा असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई गोलबद्ध गरे । उनले त्यो केन्द्रलाई बिहिवार माओवादीमा मिसाए ।
बुहारी बिना मगरलाई चुनावी फाइदा हुनसक्ने भएकाले र माओवादीप्रति आकर्षण बढिरहेको देखाउन प्रचण्डले पुरानो हत्याकाण्ड बिर्सिएर लम्साललाई पार्टीमा स्वागत गरेको हुनसक्ने माओवादी कञ्चनपुरका नेताहरू बताउँछन् । तर लम्सालको माओवादीप्रतिको रहेको नकारात्मक व्यवहार र दृष्टिकोणलाई स्थानीय नेताहरू यति छिट्टै बिर्सिन नसकिने बताउँछन् । उनीसंग जिल्लामा भने १० जना कार्यकर्ताहरु समेत नभएको बताइन्छ ।




प्रतिक्रिया