काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीमा आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शर्त राखेका छन् ।
आईतबारको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उपमहासचिव शर्माले २०६४ सालमा प्राप्त गरेको जनमत अध्यक्ष प्रचण्डकै कारण गुमेकाले त्यसको जिम्मा प्रचण्डले लिने भए आफू आत्मालोचना गर्न तयार रहेको बताए ।
बैठकमा शर्माले आत्मालोचना गर्नुपर्ने कुरा उठेपछि उनले भने, ‘म देश र जनताका लागि आत्मालोचना मात्रै होइन, जुनसुकै त्याग गर्न तयार छु । अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’
उनले अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । ‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ उनले भने, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ?’
माओवादी पार्टीको जनमत घट्दै जानुको जिम्मा स्वयं प्रचण्डले लिनुपर्ने उनले बताए । ‘स्वचालित संगठन नहुनु, विधिसम्मत परिचालन नहुनु. समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ सविधान र परिस्थिति अनुसार नगरी केन्द्रिकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ उनले भने, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्धति सहितको स्थायी संरचना, स्वचालित कमिटीहरू, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात गर्नुपर्छ । जनसंगठनहरू समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’
उपमहासचिव शर्माले पार्टी पुनर्गठनका लागि गम्भीर प्रश्न उठाइरहेका बेला अध्यक्ष प्रचण्डले भने छुट्टै फण्डा अघि बढाएका छन् । उनले नयाँ ढंगले शान्तिपूर्ण विद्रोह गर्ने कुरा गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले विगतका संघर्षहरू अपूर्ण रहेको र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध नयाँ संघर्षको तयारी गर्नुपर्ने बताए । ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटी फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यहीँ नै हो ।’
जनयुद्धदेखि संविधान निर्माणसम्मको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भए पनि परिवर्तनका सम्पूर्ण लक्ष्यहरू प्राप्त नभएको बताउँदै उनले भने, ‘म अझै जीवित छु, किनभने पुन: विद्रोहको आवश्यकता छ ।’
उनले पार्टी एकताबद्ध हुनुपर्ने बताउँदै भने, ‘हामी एकताबद्ध नभए प्रतिक्रियावादी शक्तिहरू बलिया हुनेछन् ।’ शर्माले पार्टी सुधारको माग गर्दा प्रचण्डले विद्रोहको कुरा गर्दै पार्टी एकताबद्ध हुनुपर्ने तर्क गरेका छन् । शर्माले नेतृत्व परिवर्तनको कुरा गर्दा प्रचण्डले आफू विद्रोहका लागि पुन: जीवित भएको बताएका छन् । प्रचण्डले आफू आलोचनाको केन्द्रमा आउँदा नयाँ विद्रोह, नयाँ क्रान्ति र छलाङको कुरा गर्ने गरेका छन् ।




प्रतिक्रिया