क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्‍याउनेहरू असफल भए : नेता शर्मा

क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्‍याउनेहरू असफल भए : नेता शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।

आईतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला ३ दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नुका साथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

उनले दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाएको आरोप लगाए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाइ छ ।

‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’ उनले भने ।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।

नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरे । केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेको आरोप लगाउँदै उनले भने, ‘देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने ?’

उनले भने, ‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’