काठमाण्डु – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्नुपर्नेदेखि पार्टी पुनर्गठनको एजेन्डामा खुला अभिव्यक्ति दिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र एक्लिँदै गएका छन् ।
माओवादीको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको समय भइनसकेकाले नेतृत्वविरुद्ध खुलेआम बोलेका उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने सुझाव दिएका छन् । अधिकांश स्थायी कमिटी सदस्यले शर्माको विपक्षमा मत राखेपछि आत्मालोचना गर्न दबाब बढेको माओवादी स्रोतले जनाएको छ ।
शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा शनिबार १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । बैठक आईतबार बिहान ११ बजेदेखि पुन: बस्नेछ ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको आन्तरिक विषय छताछुल्ल बोलेकाले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने राय दिएका छन् । शर्मा पक्षधर मानिने नेताहरूले समेत उनले गलत गरेको टिप्पणी गरेका स्रोतले जनाएको छ ।
उपमहासचिव शर्मा पक्षकै मानिने स्थायी कमिटी सदस्य खगराज भट्टले वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक रूपमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत राखेका छन् । उनले नेतृत्वको विषयमा सार्वजनिक टीकाटिप्पणी गरेका उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने तर्क समेत गरेका स्रोतले जनाएको छ ।
बैठकमा उपमहासचिव वर्षमान पुनले असन्तुष्टि र असमझदारीलाई पार्टीको आन्तरिक बैठकमै राख्नुपर्ने बताए । उनले चित्त नबुझेका कुरा बाहिर बोल्दा विरोधीहरूले खेल्ने मौका पाउने सुझाव दिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरू नेतृत्वको पक्षमा र शर्माको आलोचनामा व्यक्त भएपछि उनी दबाबमा परेका स्रोतले जनाएको छ ।




प्रतिक्रिया