देशलाई राष्ट्रिय सहमतिको खाँचो छ, सहमतिको सरकार बनाऔं : जनार्दन शर्मा


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बुधवार नेकपा माओवादी केन्द्र काठमाडौं महानगर कमिटी वडा नम्बर १६ ले दशैंको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकता औंल्याए ।

पार्टीहरूका बीचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनले बताए । सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको उनले बताए ।

‘पार्टीहरूको बीचमा प्रतिस्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन् राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमति गर्ने होइन भने के देखियो भने सरकार पनि कति दिन चल्ने ? कति महिना चल्ने भन्ने प्रश्न । २ वर्ष एउटालाई भाग । १ वर्ष एउटालाई भाग । २ वर्ष अर्कालाई भाग । भाग लाउँदा–लाउँदै सरकारको पनि गति नआउने । प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गाली गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने । सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रीहरूको बीचमा प्रतिस्पर्धा । भ्रष्टाचारका विरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा । रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा । उत्पादन वृद्धिमा को अगाडि बढ्ने भन्ने प्रतिस्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जानसक्यौं भने हाम्रो देश समृद्ध हुन्छ । सहमति नगरी हुँदैन । सहमति गरेर मात्रै ठूलो–ठूलो परियोजना बनाउन सक्छौं । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौं र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौं,’ उनले भने ।

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारेका छन् ।

‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौं । एक्लै प्रतिस्पर्धा गर्छाैं र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौं । यो प्रतिबद्धता हो । संकल्प हो । यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement