जर्नादन शर्माको टिप्पणी-पार्टी एजेन्डाविहीन भयो

जर्नादन शर्माको टिप्पणी-पार्टी एजेन्डाविहीन भयो

केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी एजेन्डाविहीन र शून्यतातर्फ अग्रसर भइरहेको टिप्पणी गरेका छन् ।

माओवादी स्थायी कमिटी बैठकमा आफनो धारणा राख्ने क्रममा पार्टी योजनाविहीन र सङ्गठनविहीन बनेको टिप्पणी गरेका छन् ।

‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै भने, ‘माओवादी आन्दोलन र सङ्गठन अप्ठेरो अवस्थामा पुगेको छ । हामी योजनाविहीन र सङ्गठनविहीन बनेका छौँ । पार्टीको जनाधार खस्किएको छ र देखाउन लायक काम गर्न सकेका छैनौ ।’

‘यो कमजोरीको जिम्मेवारी लिन मूल नेतृत्व पनि तयार छैन । हामी पदाधिकारीले पनि आनाकानी गरिरहेका छौँ’, उनले भने ।

शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व हस्तान्तरण गर्न पनि सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण शर्माले बैठकमा प्रस्ताव गरे ।

त्यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माले प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रमा सामूहिक नेतृत्वको अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिएको उपमहासचिव शर्माको ठहर छ । त्यसलाई उनले पार्टीको ‘उल्टो दिशा’ भनेका छन् ।

शान्ति सम्झौतासँगै बदलिएको परिस्थिति अनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउने काम नगरिएको भन्दै शर्माले ‘बहुलवादी सांगठनिक संरचना र केन्द्रिकृत सोंच आफैंमा अन्तरविरोधी’ भएको उल्लेख गरेका छन् ।

उपमहासचिव शर्माले माओवादी केन्द्रले उठाएको समाजवादको नारामा पनि प्रश्न उठाएका छन् । नव उदारवादी नीति, योजना र त्यसको पृष्ठपोषण गर्ने राज्य संरचना यथावत राखी समाजवादको नारा लगाउनु आफैंमा भूलभूलैया मात्र भएको उनको ठहर छ ।

जनताको आर्थिक जीवनसँग जोडिएको जनजीविकाको प्रश्नमा पनि माओवादी केन्द्र चुकेको उनको भनाइ छ । त्यसैले पार्टी र नेतृत्वलाई विश्वास गरेर जनयुद्ध/जनआन्दोलनमा लागेको वर्ग र सुमदाय माओवादी केन्द्रबाट टाढिँदै गएको उनको भनाइ छ ।

आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका उनले जनाएका छन् । तर यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन आनकानी गरिरहेको उनको भनाइ छ ।

पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् ।

उनले संविधानमा उल्लेख गरिएको समाजवादउन्मुख शब्दको सार्थकतालाई ध्यानमा राखेर जनपक्षीय बजेट तथा योजना बनाउन समेत नसकिएको उल्लेख गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहमा आफ्नो सरकार हुदाँहुँदै पनि तिनलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको भन्दै उनले भनेका छन्, ‘सरकार प्रमुख एवं सत्ता साझेदार भएर सरकारमा सहभागी भइरहँदा पनि संघीयताको स्प्रिट अनुसार संवैधानिक तथा राजकीय अंगहरुलाई जनताका पक्षमा रुपान्तरण गर्न सकिएन ।’
शर्माले माओवादीको समस्याको मूल कारणलाई ९ बुँदामा समेटेका छन् ।

यस्तै संविधान निर्माणको क्रममा बाँकी एजेन्डाहरू, मुख्यतः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, निर्वाचन प्रणाली, राज्यको पुनर्संरचना, जातीय, भाषिक, सांस्कृतिक पहिचान आदि मुद्दाहरूमा जनमत निर्माणको लागि कार्यक्रम बनाउने, संविधानको रक्षा र सामाजिक न्याय स्थापनाका लागि सामाजिक सत्ताको नेतृत्वमा सामाजिक सांस्कृतिक रूपान्तरणको लागि अभियानहरू सञ्चालन गर्नुपर्ने शर्माको प्रस्ताव छ ।