काठमाडौं–सत्तारुढ दल नेकपाका स्थायि समिति सदस्य जनार्दन शर्माले नेकपाको सचिवालय संरचना खारेज गर्नुपर्ने माग गरेका छन् । नेकपामा अध्यक्ष केपी ओली र प्रचण्डसहित ९ सदस्यिय सचिवालयको संरचना रहेको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निकट नेता शर्माले सचिवालयको पुनर्संरचना वा खारेज गर्नुको विकल्प नभएको बताएका छन् ।
नयां पत्रिका दैनिकमा प्रकाशित शर्माको आलेखमा भनिएको छ ‘सरकार र पार्टीबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न पार्टी र सरकार विधि र पद्धतिमा चल्छन् कि चल्दैनन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । विद्यमान सचिवालयको संरचनाले न केन्द्रीय कमिटीले गरेका निर्णयको कार्यान्वयन गर्छ, न उत्पन्न भएका समस्याबारे सही निर्णय गर्न सक्छ । ’
‘यो संरचनाले नेतृत्वको अयोग्यता साबित गर्ने काम मात्र गरेको छ । समयमै निर्णय गर्न नसक्नुले पार्टीलाई झन्डै फुटसम्म पुर्याउने अवस्था निम्त्यायो । सचिवालयको पुनर्संरचना वा खारेज नगरी यथास्थितिमा गरिएका सम्झौता पार्टी एकताको मर्म र भावनाअनुरूप सुदृढीकरण गर्नभन्दा फरक ढंगले संघर्षका लागि शक्ति सन्तुलनको अभ्यास हो किन नभन्ने ?’ शर्माले भनेका छन् ।
पुर्व एमाले र पुर्व माओवादीबीचको पार्टी एकतामा महत्वपूर्ण भुमिका खेलेका नेता शर्माले सरकार सञ्चालनका लागि आवश्यक नीतिगत सल्लाह दिन संकीर्ण सल्लाहकारको घेरा तोड्दै योग्य सल्लाहकार परिषद् गठन गरिनुपर्ने माग गरेका छन् ।
उनले उक्त परिषदले पार्टीको नीतिसंग सरकारका काम कारबाहीको तालमेल मिलाउंदै विधिको सुदृढीकरण र जनताप्रति पूर्ण उत्तरदायित्व स्थापना गर्न उचित सल्लाह प्रवाह गर्नुपर्ने धारणा समेत राखेका छन् ।
पुर्व गृहमन्त्री समेत रहेका नेता शर्माले गत सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच समझदारी बन्नु सकरात्मक भएको र उक्त बैठकमा केही पात्र र प्रवृतिसमेत उजागर भएको उल्लेख गरेका छन् । ‘समझदारीले प्रधानमन्त्रीको पद जोगाएको भनिएको छ, तर यो अन्तरसंघर्ष समाधान भइसकेको छैन । सरकारबारे उठेका धेरै प्रश्नमा अघिका विवादास्पद निर्णयहरू, अपारदर्शिता, असंवैधानिक कदम, लोकतन्त्रविरोधी सोच, पार्टीभित्रको विधिविहीनता, सरकार र पार्टीबीचको अन्तरसम्बन्धजस्ता विषयसंग सम्बन्धित छन् । नेतृत्वको टिमबाट कहिले एकलाई साथमा लिएर त कहिले अर्कोलाई साथमा लिएर समकक्षीलाई तह लगाउने खेल, सुझाब र आलोचना गर्ने जो–कोहीप्रति पूर्वाग्रहपूर्ण बदलाभाव कायम राख्ने चिन्तन र गलत कार्यको समर्थन गर्नेका अपराध ढाकछोप गर्ने प्रवृत्तिबाट सिर्जित प्रश्न नै नेकपाभित्रको संघर्षको मूल कारक हुन् ।’




प्रतिक्रिया