काठमाण्डु– नेकपाको विभाजनलाई रोक्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको चिनियां प्रतिनिधीमण्डलले नेकपाका दुई नेतालाई पटक पटक भेटेको खुलासा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार एवंम् नेकपाका केन्द्रिय सदस्य डा.राजन भट्टराई र नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकट नेता जनार्दन शर्मासंग भेटवार्ता गरेर पार्टी एकताको सम्भावनाबारे छलफल गरेको बुझिएको छ ।
येचौ नेपाल पुगेकै भोलीपल्ट विहान उनिहरु दुवै जनासंग बालुवाटारस्थित चिनियां दुतावासमा छलफल भएको थियो । त्यसपछि चिनियां टोलीले शर्मा र भट्टराईसंग मंगलवार राति दुतावासमै डिनर मिटिंग आयोजना गरेको थियो । भेटमा पार्टी एकताको सम्भावना र मुलुकको पछिल्लो अवस्थाका बारेमा चिनियां टोलीले चांसो राखेको स्रोतले जानकारी दियो । चिनियां प्रतिनिधीमण्डलले पार्टी एकताका लागी पहल गर्न दुवै नेतालाई सुझाव समेत दिएको बुझिएको छ ।
चिनियां टोलीले प्रधानमन्त्री ओली र प्रचण्डसंगको छलफलपछि एक एक जना निकट नेताहरुको सुची दिन आग्रह गरेको स्रोतको दावी छ । दुवै अध्यक्षले चिनियां टोलीसंगको छलफलको लागी शर्मा र भट्टराईको नाम दिएका हुन् । परराष्ट्र सल्लाहकार भट्टराईले चिनियां टोलीसंग सामान्य भेट भएको बताए ।
गएको आइतबार काठमाडौँ आएको टोली चार दिनपछि आज स्वदेश फर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा विवाद बढेको थियो । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले त्यसपछि एक अर्कालाई कार्वाही गरेको घोषणा गरेका थिए ।
अहिले दुवै समुहले नेता कार्यकर्ताहरु आफुतिर तान्ने प्रयास जारी राखेका छन् । दुवै समुहबीच विवाद बढिरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जितपिङको एकता सन्देश लिएर उपमन्त्री कुओ येचौको नेतृत्वमा चिनियां टोली नेपाल आएको थियो ।
उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल र कृष्णबहादुर महरासँग भेटवार्ता गरेको थियो ।
त्यसैगरी विघठित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा ,पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा. बाबुराम भट्टराई,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत चिनियां टोलीले भेटवार्ता गरेको थियो ।
चिनियां विदेश मन्त्रालयका प्रवक्ताले चिनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति नभएको दावी गर्दै चिनियां टोली नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा छलफल गर्न नेपाल भ्रमणमा रहेको बताएका थिए ।
तर, चिनियां टोलीले नेताहरुसंगको भेटमा नेकपाको एकतालाई कायम राख्न सक्ने सम्भावनाका बारेमा छलफल गरेको बुझिएको छ । उनिहरुले नेताहरुसंगको भेटमा प्रधानमन्त्रीले संसद विघठन गरेपछि निर्वाचनको सम्भावना,निर्वाचन आयोगले गर्न सक्ने निर्णय र सर्वोच्च अदालतले गर्न सक्ने सम्भावित फैसलाका बारेमा समेत छलफल गरेको स्रोतको दावी छ ।




प्रतिक्रिया