काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले बजेटको विषयलाई लिएर पदबाट राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले बजेटको बिषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने दावी गरेका हुन् ।
‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ’, उनले भने ।
त्यसैगरी करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको बताए । उनले यस विषयमा विरोध गर्नुको औचित्य नभएको दावी गरे ।
‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो । तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न’, उनले भने । इता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ ।




प्रतिक्रिया