चौतर्फी घेराबन्दीमा अर्थमन्त्री शर्मा, तत्काल राजीनामा देलान् ?


काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी राजीनामा माग गरिएको छ । अर्थ मन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटिएको बताएपछि अर्थमन्त्री शर्मा चौतर्फी शंकाको घेरामा परेका छन् ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई सामेल गरी करको दायरा परिवर्तन गरेको समाचार सार्वजनिक भएको थियो । त्यसयता सडकदेखि सदनसम्म अर्थमन्त्री शर्माको चौतर्फी विरोध भइरहेको छ । तर सरकारले भने हालसम्म छनविनमा कुनै चासो देखाएको छैन ।

एक उपभोक्ता अधिकारकर्मीले जेठ १४ गते अपराह्न ४ बजेदेखि जेठ १५ गते बिहानसम्मको सिसिक्यामरा फुटेज माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दिएका थिए । मन्त्रालयले भने सिसिटिभीका फुटेजहरू १३ दिनसम्म मात्रै सुरक्षित रहने र त्यसपछि स्वतः डिलिट हुने जवाफ दिएको छ । तर, यस्तो जवाफले अर्थमन्त्रीलाई विवादबाट छुटकारा दिलाउनभन्दा पनि थप संकटमा पार्ने देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, नागरिक अगुवा डा गोविन्द केसीलगायतले विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउनका लागि १४ गते रातिको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने माग उठाउँदै आएका छन् । तर, हिजो अर्थ मन्त्रालयले त्यस रातको फुटेज डिलिट भइसकेको बताएपछि उक्त विषय थप गम्भीर मोडमा पुगेको छ ।

उनीहरुले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि गर्न नसके नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । ‘आधारभूत नैतिकता समेत गुमाएका व्यक्तिहरु मन्त्री पदमा बसिरहँदा त्यो पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल सत्तासिन दलका विभिन्न पदाधिकारी र नेताहरुले सिर्जना गरेको आर्थिक तथा न्यायीक अराजकताबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अर्थमन्त्रीको इमानबारे विबाद र बहस भइरहेकाे अवस्थामा या त उनले अकाट्य प्रमाणसहित अनधिकृत व्यक्तिको बजेट निर्माणमा भूमिका नभएको प्रमाणित गर्नुपर्ने नभए राजीनामा गर्नुपर्ने सर्वत्र माग उठेको छ ।

नेकपा एमालेले बजेटमा अनधिकृत व्यक्तिको हस्तक्षेपबारे समाचार सार्वजनिक भएदेखि नै उक्त घटनामा छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएको छ । त्यस्तै प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक गर्न र छानविन समिती गठन गर्न माग गरे ।

‘यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन‚’ उनले भने, ‘योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीले स्वच्छाले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्रीले तत्काल राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताएका हुन् । साथै उनले शर्माले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने समेत सुझाव दिए । त्यस्तै नेकपा माओवादी केन्द्रभित्रै पनि उनले राजीनामा दिनुपर्ने माग उठेको छ ।

एक पटक सीसीटीभीको हार्ड ड्राइभबाट मेटिएको फुटेज फेरि रिकभर गर्न सकिने जानकारहरु बताउँछन् । कानूनतः सार्वजनिक निकायमा राखिएका सीसीटीभीका फुटेजको अभिलेख ३ महिनासम्म सुरक्षित राख्नुपर्ने हुन्छ । गृह मन्त्रालयले जारी गरेको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि–२०७२ मा सो प्रावधान उल्लेख छ ।

त्यसैले यदि मन्त्रालयले भनेजस्तो फुटेज डिलिट नै भएको हो भने त्यो कानूनको ठाडो उल्लंघन हो । साथै, मन्त्रालयको सो भनाइले अर्थमन्त्रीप्रति थप आशंका उब्जेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement