काठमाण्डु – नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढ्दै गएका कारण वर्तमान राजनीतिक संकट आएको टिप्पणी गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत परिवर्तनको मर्म अनुरुप लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यमा भन्दा सत्ता स्वार्थ र व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लागेका कारण वर्तमान समस्या आएको बताएका हुन् ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि नेता शर्माले चिन्ता व्यक्त गरेका हुन् ।
‘हामीले प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ,’ नेता शर्माले भनेका छन्, आफैंभित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’
उनले राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू विच आतेमालो गरेर अघि बढ्न आग्रह गरेका छन् ।




प्रतिक्रिया