प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु, रुकुमको बजेट झापा हालियोसः जनार्दन शर्मा


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजानुस भन्दै आक्रोश व्यक्त गरे ।

साथै उनले नेतामुखी बजेट बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् । शमाले संघीयता आएपछि पिछडिएका क्षेत्रले पनि बजेट पाउने आशा गरे पनि त्यो हुन नसकेको बताए ।

‘भौतिक योजना मन्त्रालयका मन्त्री जीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस् । प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु । झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस् । मेरो शुभकामना छ’, शर्माले भने, ‘संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो । केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ ।’

शर्माले बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement