काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ । मंगलबार जसपाको केन्द्रिय कार्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकमा नेताहरुबीच सहमति हुन नसक्दा बिना निष्कर्ष टुंगिएको हो ।
आजको बैठकमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच कुरा नमिल्दा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा सहमति नजुटेको हो ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतले कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका थिए । भट्टराईले कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेर अस्पतालतिर लागेका थिए । उनको भोली ट्युमरको अपरेशन हुंदैछ ।
अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएको जसपाका एक नेताले जानकारी दिए । नेताहरु पुनः छलफलमा बस्नेगरी बैठक टुंगिएको हो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर, बावुराम भट्टराई, उपेन्द्र यादव,राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी थिए । जसपाभित्र अध्यक्ष ठाकुर र नेता महतो ओली सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवसहितका नेता अविश्वासको प्रस्ताव तुरुन्त दर्ता गर्ने पक्षमा छन् ।
जसपाभित्र यसअघि स्थगित भएको कार्यकारी समितिको बैठक बोलाएर सरकारबारे तत्काल निर्णय गर्नुपर्ने माग उठिरहेको छ । नेता उपेन्द्र यादवको ५१ सदस्यिय कार्यकारणी समितीमा (२८ सदस्य) बहुमत छ भने दलमा ठाकुरको पक्षमा बढी सांसद छन् । तर, संसदीय दलमा भने पुर्व शहरी विकासमन्त्री ईस्तियाक राई, प्रदिप यादव र रेणु यादवको निर्णायक भुमिका छ ।




प्रतिक्रिया