काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताको विवाद टुङ्गो लगाएसंगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । उपेन्द्र यादव पक्षले आधिकारिकता पाएसंगै राजनीतिले नयाँ मोड लिएको छ ।
जसपाभित्रको विवाद निरुपण भएसंगै अब शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार पनि सहज हुने भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन गठबन्धनमा रहेर सहयोग गरेको यादव पक्ष अब सरकारमा सहभागि हुने नेताहरुले बताएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागि हुने निश्चित भएपनि मन्त्रालयबारे टुङ्गो लगाउन बाँकी रहेको बताए ।
काठमाण्डुपाटीसंगको कुराकानीमा उनले भने, ‘सरकारमा हामी जान्छौँ । अब छलफल गरेर मन्त्रालयको टुङ्गो लगाउछौँ ।’
अध्यक्ष यादवले जसपालाई जुन मन्त्रालय दिएपनि स्वीकार गर्ने बताए । उनले भने, ‘हामी यो त्यो मन्त्रालय भनेर माग्दैनौँ । हामीलाई दिएको जिम्मेवारी निष्ठापुर्वक पुरा गछौँ ।’
फरक प्रशंगमा अध्यक्ष यादवले आधिकारिकता आफ्नो पक्षमा आएपनि सबैलाई मिलाएर लैजाने बताए । उनले पार्टी विभाजित हुनुमा महन्थ ठाकुर नै जिम्मेवार रहेको बताए ।
उनले भने, ‘हामीले उहाँलाई मानिरहेका थियौं । तर, ठाकुरजीले नै प्रतिगमनलाई साथ दिँदै छुट्टै बैठक गर्नुभयो । पार्टी विधि अनुसार त चल्नुपर्यो नि । उहाँहरु सच्चिएर आउनुभयो भने पार्टीले बिचार गर्छ तर अहिलेकै अवस्थामा उहाँसंग मिलेर हिड्ने अवस्था छैन् । तर, सांसदहरु भने जसपामै रहन्छन् ।’
यता ठाकुर पक्षले भने निर्वाचन आयोगको फैसलापछि यादव पक्षले अहमता देखाउन सुरु गरेको प्रतिक्रिया दिएका छन् । ठाकुर पक्षीय नेतृ चन्दा चौधरीले यादव पक्ष अराजक बनेको प्रतिक्रिया दिएकी छन् । संविधान अनुसार फैसला गरेको भएपनि पार्टी विभाजनको जिम्मा उपेन्द्र यादवले लिनुपर्ने उनले बताइन् । नेतृ चौधरीले आफुहरु छलफलमै रहेकाले मिडियामा नआएको बताइन् ।
‘हामी छलफलमा व्यस्त भएकाले मिडियालाई रेस्पोन्स गर्न नसकेका हौँ । उहाँहरुको कुरा नगरौ न उहाँहरुको स्कुलिङ नै त्यस्तै थियो । हाम्रो स्कुलिङ हेर्नुस न महन्थजी कति शालिन र भद्र हुनुहुन्छ । त्यसैले हामीले प्रतिक्रिया छिटो नदिएका हौं अहिले फेरी छलफल हुँदैछ त्यसपछि के गर्ने भन्नेबारे हामी निर्णय गर्छौं।’
आयोगले ठाकुर पक्षलाई पार्टीभित्रै रहने वा नयाँ दल बनाउने विकल्प दिएको छ । नयाँ दल बनाएर अघि बढेमा उनिहरुको सांसद पद समेत गुम्ने संविधानविद भीमार्जुन आचार्यले बताए । यद्पी ठाकुर पक्षको सांसदहरुको पद जोगिने कि गुम्ने भन्नेमा यादव पक्षको निर्णयमा भर पर्ने उनको भनाई छ ।
नयाँ दल दर्ता प्रक्रियामा नगई जसपामै रहेमा भने र यादव पक्षले कुनै कारवाही गरेन भने सांसद पद जोगिन सक्छ । अहिले दुवै पक्ष आ -आफ्नो रणनिति बनाउन छलफलमा जुटेका छन् ।
प्रतिक्रिया