काठमाण्डु – मकवानपुरको इच्छाकामना गाउँपालिका–१ कुलबाङगमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र दुई बालिकाको मृत्यु भएको हो ।
श्यामबहादुर चेपाङ र पदमा माया चेपाङको पाँच जनाको परिवारले आफ्नै घरमा जङ्गली च्याउ खाएका थिए । त्यसलगतै चेपाङ परिवारका तीन जनाको स्वास्थ्य समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएका थिए । त्यहाँ उपचार सम्भव नदेखिएपछि परिवारले भरतपुरस्थित सरकारी अस्पतालमा लगेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ, ११ वर्षका सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ हुन् । मृतक तीनैजना स्थानीय श्यामबहादुर चेपाङ र पदमकुमारी चेपाङका सन्तान हुन् ।
प्रहरीका अनुसार च्याउ खाएर बिरामी परेकी नमुना चेपाङको गत शुक्रबार गाउँमै मृत्यु भएको थियो । अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पताल ल्याइएका सञ्जयको शनिबार राति उपचारकै क्रममा ज्यान गयो भने जेठी छोरी मनिताको पनि मंगलबार अस्पतालमै मृत्यु भएको हो ।
पाँच दिनको अन्तरालमा आफ्ना भएका सबै सन्तान गुमाएपछि बुबा श्यामबहादुर र आमा पदमकुमारी पीडामा छन् । ती बालबालिका स्थानीय विद्यालयको कक्षा २, ३ र ५ मा अध्ययनरत थिए ।
च्याउ खाएका बुबा श्यामबहादुर र आमा पदमकुमारी भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया