जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै

एकीकरणपछि संसद्मा छैटौं ठूलो हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- २०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच बुधबार पार्टी एकता घोषणा हुँदै छ ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा ११ बजे आयोजना हुने औपचारिक कार्यक्रममा दुई पार्टीबीच एकीकरण हुन लागेको हो । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ ।

थरूहट आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथक्तावादी संघर्ष त्यागेर मूलधारको राजनीतिमा आएको जनमत पार्टी एकीकरणमा जान लागेको हो ।

दुवै पार्टीले आ–आफ्नो अन्तिम केन्द्रीय समिति बैठक गरेर एकताको औपचारिक निर्णयलाई अनुमोदन गरेका हुन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भएपछि एकताले आकार लिएको हो ।

पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको दुवै दलका नेताहरूको भनाइ छ ।

नाउपा र जनमतले ९ बुँदे सम्झौतासहित पार्टी एकीकरण गर्न लागेका हुन् । नाउपाको अन्तिम केन्द्रीय समितिले ९ बुँदे सम्झौतासहित पार्टी एकता गर्ने निर्णय गरेको हो ।

एकीकृत पार्टीको पहिलो वरीयतामा नाउपाका वर्तमान संरक्षक रेशम चौधरी हुने छन् । उनी नयाँ पार्टीमा पनि संरक्षक नै रहने छन् । दोस्रोमा जनमतका अध्यक्ष सीके राउत हुने छन् । उनको पद कार्यकारी समितिको अध्यक्ष हुने छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतामा हुने छन् । उनको पद सहअध्यक्ष हुने छ ।

दुवै पार्टीले नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिह्न, पदाधिकारीका संख्या आदि विषयमा टुंगो लगाइसकेका छन् । एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी अर्थात् नाजपा रहने तय भएको छ । पार्टीको विधान पनि लेखिसकिएको जनमतका सचिव वीपी साहले बताए । नेता–कार्यकर्ताहरूले ‘जय नागरिक’ भनेर सम्बोधन गर्ने छन् ।

दुवै पार्टीले पदाधिकारीका विषयमा पनि सहमति गरिसकेका छन् ।

७०० जनाको केन्द्रीय समिति

एकीकृत पार्टीको केन्द्रीय पदाधिकारी ५० सदस्यीय हुने छ । दुवै पार्टीका २५/२५ जना पदाधिकारी रहने छन् । यस्तै, केन्द्रीय समिति ७०० सदस्यीय रहने दुवै पार्टीले टुंगो लगाएका छन् ।

केन्द्रीय समितिका लागि दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिने छन् । यस्तै, कार्यसम्पादन समिति ५१ सदस्यीय रहने छ । कार्यसम्पादनमा दुवै पार्टीबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने छ, जसमा दुवै पार्टीबाट २५/२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय रहने छ ।

पार्टीको चुनाव चिह्न ढकिया नै रहने छ । ढकिया नागरिक उन्मुक्तिको चुनाव चिह्न हो । पार्टीको झण्डा भने वैजनी रङको चौकुने आयातभित्र ढकिया हुने छ । झन्डा हाल नाउपा र जनमत दुवैले प्रयोग गरिरहेकालाई मिश्रण गरी बनाइएको छ ।

एकतापछि ७ प्रदेशमध्ये जनमत र नागरिक उन्मुक्तिले क्रमशः ३/३ वटामा नेतृत्व लिने छन् । त्यसमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिले र कोशी, मधेश र गण्डकीमा जनमतले नेतृत्व गर्ने छन् । बाग्मतीमा भने २ अध्यक्षात्मक प्रणाली अपनाइने नेताहरूले बताएका छन् ।

पार्टी एकतापछि प्रज्ञाप्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बस्ने छ भने १९ वैशाखमा निर्वाचन आयोगमा पार्टी दर्ता गरिने छ ।

छैटौं ठूलो दल

२०७५ सालमा सीके राउतको नेतृत्वमा जनमत पार्टी र १९ पुस २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए ।

प्रतिनिधिसभामा जनमत पार्टीका १ प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका ४ सदस्य छन् । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो । नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन ।

जनमत र नाउपाबीच एकीकरणपछिको पार्टी तराई–मधेश केन्द्रित ठूलो दल हुने छ भने संसद्मा छैटौं ठूलो हुने छ ।

पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकीकृकत पार्टी १० सिटका साथ छैटौं स्थानमा पुग्ने छ । संसद्मा अहिले नेकपा (एकीकृत समाजवादी)का १० सांसद छन् ।

यस्तै प्रदेशतर्फ जनमतका मधेशमा १३ र लुम्बिनीमा तीन गरी १६ सांसद छन् । नागरिक उन्मुक्तिका सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक गरी १२ सांसद छन् ।