काठमाण्डु – श्रीमान–श्रीमतीको बेमेलका कारण जनमत पार्टीसँग अवरुद्ध एकीकरणका विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले औपचारिक छलफल थाल्दैछ ।
शुक्रबादेखि नाउपाको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा जनमतसँग एकीकरण र मोर्चाबन्दीका विषयमा छलफल गरिने छ ।
अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीलगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेकी हुन् ।
बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।
महाधिवेशनपछि पार्टीको यो पहिलो केन्द्रीय समिति बैठक हो । नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८ गतेसम्म कैलालीको टिकापुरमा भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।
नाउपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरणको चर्चा छ । यसबारे छलफल गरी आवश्यक निर्णय लिन नाउपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टी एकताका लागि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल नै बनाइसकेको छ ।
संसदमा छैटौँ ठूलो दल बन्नेगरी जनमत पार्टी र नाउपाबीच एकता गर्ने प्रयास छ । तर एकताका लागि जनमत तयार भएपनि नाउपाका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच मतभिन्नता छ । चौधरी एकताको पक्षमा छन् भने श्रेष्ठ एकता प्रयासबारे आफूलाई केही जानकारी नभएको बताउँदै आएकी छिन् । उनी अहिले एकताभन्दा पार्टी सुदृढीकरण गर्नुपर्ने बताउँछिन् ।
तर संरक्षक चौधरी भने एकतालाई अन्तिम स्वरूप दिन जनमतका अध्यक्ष डा. सिके राउतसँग पटकपटक छलफल पनि गरिसकेका छन् ।
दुई पार्टी एक हुँदा उसको पहुँच मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्म विस्तार हुनेछ । मधेसमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ ।
एकीकृत पार्टीको संरक्षक रेशम चौधरी हुने गरी एकताको प्रयासमा छलफल जारी छ । यस्तै, अध्यक्षमा राउत रहने छन् भने सहअध्यक्षमा नाउपाकी अध्यक्ष श्रेष्ठ रहनेछिन् । यद्यपि, सहअध्यक्ष राख्ने वा अध्यक्षमण्डल राख्ने भन्ने निक्र्यौल भने दुवै पार्टीले गठन गर्ने कार्यदलले टुंगो लगाउने छ ।
स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए।
यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए । डिल्लीबजार कारागारमै छँदा चौधरीले श्रीमती श्रेष्ठको अध्यक्षतामा नाउपा गठन गरेका थिए ।
जनमत पार्टी प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बनेको छ । प्रत्यक्षमा राउतले जितेका छन् । बाँकी ५ सांसद समानुपातिकतर्फका हुन । मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन् । यस्तै, नाउपाका ४ सांसद छन् ।
जनमतका एक नेताका अनुसार पार्टीको नाम जनमत पार्टी नै राख्ने, अध्यक्षमा डा. राउत, संरक्षकमा चौधरी, सहअध्यक्षमा श्रेष्ठ र चुनाव चिह्न ढकिया राख्ने कुरामा सहमति भइसकेको छ ।




प्रतिक्रिया