जापानले अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने

जापानले अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जापानले नर्सिङ केयरगिभरबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।

नेपाली कामदार जापान लैजान दुई देशबीच भएको समझदारीअनुसार हाल नर्सिङ केयरगिभरका लागि परीक्षा लिइरहेको जापानले आगामी वर्ष मत्स्य व्यवसायसहित अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान सुरु गर्ने भएको हो ।

नर्सिङ केयरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने वचन जापानी पक्षले दिएको सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।

जापानसँग नर्सिङ केयरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ । जापान र नेपालबीच कामदार लैजाने विषयमा भएको समझदारीअनुरूप पहिलो वर्ष नर्सिङ केयरगिभरका लागि परीक्षा भइरहेको छ ।

भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन् । उक्त परीक्षामा एक हजार जनालाई मात्रै सहभागी बनाइएको र परीक्षाबारे जानकारी नदिइएको भन्दै नेपाली पक्ष असन्तुष्ट बनेको थियो ।