कोरोना संक्रमित बढेसँगै जापानमा नेपालीको व्यवसाय ‘चौपट’

कोरोना संक्रमित बढेसँगै जापानमा नेपालीको व्यवसाय ‘चौपट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गणेश खनियाँ/टोकियो – पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।

२५ वर्ष पहिले एक होटलमा काम गर्न यहाँ आएका बाग्लुङ, गलकोटका दिलु खत्रीको हाल इवाराकी, चिवा र टोकियोमा गरी सातवटा नेपाली रेष्टुरेन्ट छन् । कोभिड–१९ भाइरस संक्रमण डरले हाल उनका रेष्टुरेन्टहरूमा ग्राहकहरु आउन छोडेपछि सुनसान हुन थालेको छ ।

त्यसैले उनले रेष्टुरेन्टमा ग्राहक चाप कम भएपछि आफूकहाँ काम गर्ने सबै पार्टटाइम कर्मचारीलाई हटाएका छन् ।

यसैगरी दस वर्ष पहिले जापान आएका र हाल फुनावासी र टोकियो सिनागोभुमा गरी दुईवटा रेष्टुरेन्ट चलाइराखेका दोलखाका केशरमान कार्कीको रेस्टुरेन्ट पनि सुनसान जस्तै हुन थालेको छ ।

रातोभाले नामबाट सन्चालन गरेका उनका दुई रेष्टुुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्यो तर अहिले सुनसान बन्न थालेको उनले बताए ।

६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा मुश्किलले १० देखि १५ जना ग्राहक देखिने गरेको उनी बताउँछन् ।

यसले गर्दा उनलाई हाल प्रति रेष्टुरेन्टको मासिक तीन लाख भाडा र तिनका कर्मचारीलाई व्यवस्थापन गर्न समस्या पर्न थालेको छ ।

यस्तै अवस्था विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेलको छ । आफनो अध्ययन पुरा भएपछि साइतामा केनको कितामोटो रेल स्टेशनमा उनले झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खोलेका थिए तर कोरोना भाइरसका कारण पछिल्ला दिनहरूमा आम्दानी घट्न थालेको बताए । यसले उनलाई पनि चिन्तित बनाउन थालेको छ । जापानमा अहिले एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण देखापर्न थालेको छ ।

युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ ।

हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुरा हेर्न भन्दै विभिन्न पार्कमा पुगी रमाइलो गर्ने समय हो ।

यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुँदासम्म संयमता अपनाउन अपिल गरेका छन् ।

जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ ।

संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुनै पनि नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताएका छन् ।

उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरे ।