काठमाडौं – जापानले नेपालबाट लैजाने कामदारको भाषा र सीपसम्बन्धी परीक्षा आउने कार्तिकमा हुने भएको छ । १० र ११ कार्तिकमा भाषा परीक्षा र २० र २१ कार्तिकमा सीपसम्बन्धी परीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ । जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ’केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।
गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो। त्यतिबेला उक्त सम्झौता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया एप्रिल महिनाबाटै शुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो। भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने सचिव महेशप्रसाद दहालले बताए।
“परीक्षाकै बीचमा हामी कामदारको स्वास्थ्य जाँच लगायत कसरी गर्ने भन्ने जापानी पक्षसँग छलफलमै छौँ,“ दहालले भने, “अहिलेसम्मको कुरा अनुसार कामदारले परीक्षा शुल्क र जापान जानका लागि टिकटको पैसा तिर्नुपर्ने भन्ने छ तर सबै निर्णय भइसकेको छैन।“ गत डिसेम्बरमा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको थियो। दुई सरकारीबीच भएको सहमति अनुसार जाने नेपालीहरूले १४ वटा विभिन्न क्षेत्रमा काम गर्न पाउँछन्।
नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा नेपाली लगायत अन्य आठवटा मुलुकबाट जापानले कामदार लिन खोजेको बताइएको छ। पहिलो चरणमा उसले केयरगिभर लिन खोजेको र त्यसका लागि नेपाल र फिलिपिन्ससँग सम्झौता भएको बताइन्छ।
जापान सरकारले पाँच वर्षका लागि ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिने जनाएको छ। नौवटा मुलुकमध्ये नेपाल उनीहरूको प्राथमिकतामा रहेको बताइन्छ। श्रम गर्ने भनिएका भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियामध्ये जापानले नेपालसँग सबैभन्दा पहिला सम्झौता गरेको थियो।




प्रतिक्रिया