टोकियो – जापानका प्रधानमन्त्री सिन्जो आबेले एक महिना आपतकालको अवधि थप गरेका छन् ।
यसअघि सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने निर्णय प्रधानमन्त्री आबेले गरेक हुन् ।
जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यहीँ मे ६ तारिखमा सकिन लागेको हो ।
यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत गरिएको थियो ।
जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गरेका थिए ।
आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ ।
आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ ।
सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ । सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ ।
यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६ सय जना रहेका छन् । यस संक्रमणका कारण यहाँ ५०० भन्दा बढीको ज्यान गएको छ ।




प्रतिक्रिया