काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दिने ८ जना नेताहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीको अनुशासन र विधानविपरीत कार्य गरेको ठहर गर्दै निष्कासनमा पर्नेहरूमा पर्साका प्रभावशाली नेता प्रदीप यादव र बाराका कमरुल्लाह अन्सारी रहेका छन् । बाराकै नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह पनि कारबाहीमा परेका छन् ।
सर्लाहीका उदयकान्त मिश्र तथा महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादवलाई पनि पार्टीले निष्कासन गरेको छ । कारबाहीमा परेकामध्ये अधिकांश निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
पार्टी संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ पार्टीको नीति तथा निर्णयविपरीत आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र पार्टी हितविपरीत कार्य गर्नेहरूलाई आजैका मितिदेखि लागू हुने गरी निष्कासन गरिएको छ ।’




प्रतिक्रिया