जसपा विवाद उत्कर्षमाः सहमतिमा छुट्टिने नेताहरुको तयारी

जसपा विवाद उत्कर्षमाः सहमतिमा छुट्टिने नेताहरुको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी विभाजनकोे अवस्थामा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्षद्वय उपेन्द्र यादव–डा. बाबुराम भट्टराईबीचको विवादका कारण जसपा विभाजनको डिलमा पुगेको हो ।

ठाकुर समूहले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा जान सहमत हुने र उपेन्द्र–बाबुराम समूहले विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी हुने अडान लिएपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि संसद विघटन गरेर मध्यावधी निर्वाचन जाने निर्णयमा ठाकुर पक्षले समर्थन जनाएको छ । यता उपेन्द्र यादव समूह भने प्रधानमन्त्री अ‍ोलीको संसद विघटन गर्ने कदम असंवैधानिक भन्दै अन्य दलहरुसँग मिलेर सर्वोच्च अदालत पुगेको छ ।

नेताहरु पार्टीको सामूहिक निर्णयलाई लत्याउँदै गुटगत रुपमा हिँड्न थालेपछि सहमतिमा छुट्टिने तयारी गरेको स्रोतले जानकारी दियो । एकीकरण पूरा नहुँदै पार्र्टीभित्र फरक–फरक निर्णय हुन थालेपछि नेताहरु आजित भएका छन् । ठाकुर समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि यादव समूह झनै रुष्ट बन्दै आइरहेको छ ।

‘एउटा पक्ष सरकार र अर्को पक्ष विपक्षमा गएपछि पार्टी सग्लो रहने अवस्था हुँदैन । बरु सहमतिमा छुट्टिएर जाँदा राम्रो हुन्छ’, जसपाका एक नेताले भने ।

पार्टीभित्रको विवाद समाधानका लागि जसपाका अध्यक्षद्वय ठाकुर र यादवबीच पटकपटक भेटवार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन् । दुवै पक्षले आ–आफ्ना अडान कायम राख्दा जसपाको विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष ठाकुरको संसदीय दलमा बहुमत छ भने केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत रहेको छ ।

जसपाका अध्यक्ष ठाकुर र यादव दुवैको यसअघि केन्द्रिय समितिमा समान २५–२५ जना सदस्य थिए । तर, दुवै नेताको कित्ता फरक फरक भएपछि यादवको पक्षमा बहुमत जुटेको हो ।

अध्यक्ष बाबुराम भट्टराईले सहमतिमा छुट्टिएर जान नेताहरुलाई सुझाव दिएका छन् । आइतबार राती ट्वीट गर्दै भट्टराईले समयले नयॉ ध्रुवीकरण खोजेको बताए । उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न सुझाव दिँदै हातमिलाएर आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयॉ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयॉ ध्रुवीकरण खोज्दैछ’, उनले भनेका छन्, ‘अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ । हातमिलाएर आ–आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेटहुनेछ ।’

माग पूरा भएपछि सरकारको लाइन

जसपा अध्यक्ष ठाकुर पक्षले सरकारबाट आफ्ना मागहरु पूरा गर्न चरणमा रहेको भन्दै प्रधानमन्त्री ओलीलाई समर्थन गरेको छ ।

सरकारले नागरिकता विधेयक, मधेश आन्दोलनमा जेलमा परेका नेता कार्यकर्ता रिहालगायतका माग पूरा गरेपछि ठाकुर पक्ष सरकारमा जान सहमत भएको हो ।

प्रधानमन्त्री अ‍ोली ठाकुर पक्षलाई ८ वटा मन्त्रालय दिएर सरकारमा ल्याउन सहमत भएका छन् । त्यसका लागि उनले जसपाका शीर्ष नेताहरुसँग निरन्तर छलफल जारी राखेका छन् ।

जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी छ । नेताहरु शरदसिंह भण्डारी,राजकिशोर यादव,उमाशंकर अरघरिया,अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सुचीमा छन् ।