काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन पार्टीका तीन नेतालाई जिम्मेवारी दिएको छ ।
बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी बैठकले मन्त्री टुंगो लगाउने जिम्मा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो । जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने यसअघि नै निर्णय गरिसकेको छ ।
जसपामा मन्त्री हुने आकांक्षीको संख्या धेरै छ । तर, कार्यकारिणी सदस्यहरुले मन्त्री चयनको मापदण्डबारे छलफल गर्दै समानुपातिक समावेशी, नयाँ अनुहारलाई प्राथमिकता, विषयवस्तुका अनुभवी, पार्टी तथा आन्दोलनमा योगदान दिएका जस्ता विषयवस्तुका आधारमा मन्त्री चयन गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिँदै कार्यकारिणी सदस्य डम्बर खतिवडाले मन्त्री टुंगो लगाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको बताए । उनले सरकारमा सहभागी हुन अझै केहि दिन लाग्ने भन्दै मन्त्री कोको जाने भन्ने विषयमा छलफल नै नभएको बताए ।
‘सरकारमा कहिले र कसरी जाने ? के–कस्ता एजेण्डाहरु लिएर जाने भन्ने विषयमा आजको छलफलबाट सकारात्मक सुझाव आएका छन् । तर, यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ,’ नउले भने ।
जसपाको बैठक भोलि ११ बजे पुनः बस्नेछ ।




प्रतिक्रिया