भागबण्डाको लुँछाचुँडी : जसपाले २५ सीट नपाए गठबन्धनबाट बाहिरिने

भागबण्डाको लुँछाचुँडी : जसपाले २५ सीट नपाए गठबन्धनबाट बाहिरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । उसले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आफुले दावी गरेजति सिट नपाए गठबन्धनबाट बाहिरिने संकेत गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा २० सीट र अन्य ठाउँमा समेत गरी २५ सीटको माग गरेका छन् । तर सिट बाँडफाटमा हालसम्म सहमति हुन सकेको छैन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले सीट बाँडफाँटमा १०० सीटबाट तल नझर्ने बलियो अडान राखेको छ । अन्य दलहरूलाई कांग्रेसले पेलानमा पारेपछि कांग्रेससँगको गठबन्धनबाट आफ्नो दललाई खासै फाइदा नहुने निष्कर्षमा गठबन्धनभित्रका दलहरू पुगेका छन् ।

यसैबीच आफ्नो दलले मागेको सीट कांग्रेसले दिन नसक्ने र तराई क्षेत्रमा कांग्रेसले जसपाका लागि त्याग गर्न नसक्ने भएसँगै उपेन्द्र यादवले गठबन्धनबाटै बाहिरिने चेतावनी दिएका छन् । कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन कार्यदलको बैठकमा सुनाइसकेका छन् ।

पार्टीले दावी गरेको सिट नपाए गठबन्धबाट आफुहरु बाहिरिन बाध्य हुने उनीहरुले बताएको स्रोतले जानकारी दियो । पाँच दलमा रहेका सबै दलको आँखा मधेश प्रदेशमै छ । तर जसपा भने मधेश प्रदेशमा अन्य दललाई इन्ट्री नै दिन चाहाँदैन ।

जसपाले आफुले दावी गरेभन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले देखेका छन् । जसपा मधेसमा प्रतिनिधिसभाको सिट घटाउन तयार छ तर, प्रदेशमा कुनै पनि हालतमा घटाउन चाहाँदैन ।

जसपाको बेस नै मधेस प्रदेश हो, उसले मधेशमा आफ्नो पार्टीको सरकार बनाउँन चाहान्छ, एक्लै चुनाव लडे पनि सबभन्दा बढी सिट ल्याउँने अध्यक्ष यादवको विश्वास छ । त्यसैले पनि उनले मागेजति सिट नपाइए गठबन्धन त्याग गर्ने सङ्केत देखाएका हुन् ।

उनले सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने अवस्था आउने सार्वजनिक कार्यक्रमै बताइसकेका छन् । त्यसका लागि उनले बुधबारमात्रै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।