काठमाण्डु – जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका विषयमा छलफल सुरू गरेकाे छ । जसपाका अध्यक्ष महन्थ ठाकुरसँग अर्का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आन्तरिक छलफल सुरु गरेका हुन् ।
अध्यक्ष ठाकुरले जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान लिएपछि अध्यक्षद्वय यादव र भट्टराईले शेरबहादुर देउवाले नेतृत्व गर्ने नयाँ सरकारमा जानुपर्ने बताएका छन् । यतिबेला जसपाका दुई अध्यक्षले ठाकुरलाई कन्भिन्स गर्ने प्रयास सुरू गरेका छन् ।
अध्यक्ष ठाकुरलाई भेटेर नेताहरुले नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् । तर, उनले प्रधानमन्त्री अोलीसमक्ष वार्ता भइरहेकाले कांग्रेसलाई साथ दिन नसकिने जवाफ दिएकाे स्राेतले जानकारी दियाे ।
‘पहिले सरकारसँगको वार्ता हेरौं न । हाम्रा मुद्दा प्रधानमन्त्री समक्ष गइसकेको छ,’ उनले जवाफ दिए, ‘छलफलमा मुद्दा सम्बोधन हामी पनि गर्छौँ भन्नु भएको छ ।’
ओली र देउवाको निर्णायक जसपा
नयाँ सरकार गठन र सत्ता टिकाउनका लागि यतिबेला जसपा निर्णायक तहमा पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारका लागि जसपा निर्णायक बनेको छ ।
प्रतिनिधिसभामा ३२ सिट रहेको जसपा कांग्रेस र एमालेको तानातानमा परेको छ । सरकार बचाउन प्रधानमन्त्री अोलीलाई जसपाको साथ चाहिएको छ भने नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रलाई पनि जसपाको साथ आवश्यक छ ।
यतिबेला संसदमा कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ जना सांसद रहेका छन् । नयाँ सरकार गठन वा सरकार टिकाउनका लागि प्रतिनिधिसभामा १३९ सांसदकाे आवश्यकता पर्छ । एमालेबाट प्रतिनिधिसभामा १२० जना सांसद रहेका छन् । अब प्रधानमन्त्रीलाई सरकार टिकाउनका लागि १९ जना सांसदको आवश्यकता पर्दछ । त्यसका लागि जसपा नै निर्णायक बनेको छ ।
जसपाले ओली नेतृत्वको सरकारलाई सम्भावना बढेको स्रोतको दाबी छ । जसपा अध्यक्ष महन्थ ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् । उनले जसपाका माग पूरा गर्ने आश्वासन दिएपछि ठाकुर ओली सरकारलाई नै निरन्तरता दिने मनस्थितिमा छन् ।
ठाकुरलाई देउवा भन्दा ओलीको भर लागेको छ । किनकी कांग्रेसले जेलमा रहेका जसपाका सांसद रेशम चौधरीको रिहाई गर्न कुनै चासो देखाएको छैन् । कांग्रेसका नेताहरुले हत्या आरोपमा पक्राउ परेको व्यक्तिलाई छुटकारा दिन नसकिने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले जसपाका सबै माग पूरा गर्ने प्रतिबद्धता गरेर वार्ता प्रक्रिया अघि बढाइसकेका छन् ।
गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको माओवादी केन्द्र र जसपाको बैठक बिना निष्कर्ष टुंगिएको थियो । जसपाले केहीदिन आन्तरिक छलफलका लागि समय माग गरेपछि बैठक निष्कर्ष विहीन बनेको थियो ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र कृष्णबहादुर महरा सहभागी थिए ।
यस्तै जसपाबाट अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बैठकमा सहभागी थिए ।




प्रतिक्रिया