काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी समितिको बैठकले संगठन विस्तार अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै माघ मसान्तसम्मलाई निरन्तरता दिएको छ ।
शनिबार सम्पन्न बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकोले संगठन निर्माण एवं विस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।
आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।
महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र अद्यावधि गर्ने निर्णय गरेको छ । जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ तर तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भातृ संगठन स्वतः विघटन हुने जसपा नेपालले जनाएको छ ।




प्रतिक्रिया