काठमाण्डु– जनता समाजवादी पार्टी फुट्नबाट जोगिने भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच त्यसको लागी निरन्तर वार्ता भइरहेको छ । जसपाको दोस्रो पुस्ताका नेताहरुको पहलमा भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ ।
दुवै पक्षलाई एक एक कदम पछी हटाएर सहमती कायम गर्ने र पार्टी एकता बचाउने अभियानमा उनिहरु लागेका छन् । त्यसका लागी दुवै अध्यक्षबीच आज निर्णायक वार्ता हुँदैछ । जसपालाई एक राख्नको लागी जसपाका कार्यकारिणी सदस्यहरु इस्तियाक राई, प्रदिप यादव, गंगा श्रेष्ठ, प्रशान्त सिंह, मनिष सुमन र मृगेन्द्रसिंह यादव लगायतकाले मध्यमार्गी भूमिका खेलिरहेका छन् ।
सोमबार पनि दुवै अध्यक्षबीच वार्ता गर्ने सहमती भएपनि अन्तिममा रोकिएको थियो । वार्ता रोकिनुमा वरिष्ठ नेता राजेन्द्र महतो र शरदसिंह भण्डारीको भुमिका थियो । उनिहरु दुवै जना अध्यक्ष यादवसंग मिल्न नहुने पक्षमा छन् ।
आज दुवै अध्यक्षले पार्टी एकतालाई कायम राख्न र कार्यकर्ता पंक्तिमा सकारात्मक सन्देश दिनका लागी संयुक्त जारी गर्ने तयारी छ । पछिल्लो समय ठाकुर र यादवले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै आएका थिए । दुवै अध्यक्षबीच वक्तव्य जारी गर्दा समेत संयुक्त हस्ताक्षरमा जारी गर्ने सहमती भएको जसपा स्रोतले जानकारी दियो ।
दुवै नेताबीच पार्टी एकतालाई बचाउन सहमती भएपनि मुख्य मुद्दामा भने आ-आफ्ना अडान कायमै छन् । सोमबार लुम्बिनीका पदमुक्त चार जना सांसदलाई पुर्नवहाली गर्न सर्वोच्चले आदेश दिएसंगै यादव पक्ष समेत पार्टीमा एकता कायम गर्न अग्रसर छ । जसपाका अर्का अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसंग मुद्दा सम्बोधन गरेर सरकारलाई समर्थन गर्ने दिशामा अग्रसर छन् ।
जसपाका युवा नेताहरुले पार्टीको लाईन एक बनाएर अघि बढ्नेमा जोड दिइरहेका छन् । ‘पहिलो कुरा पार्टी एकतालाई जोगाइराख्नुपर्छ भन्नेमा हाम्रो कुरा हो, त्यसपछि पार्टीको लाइन एउटै बनाएर अघि बढनुपर्छ भन्नेमा हामी छौं। प्रधामन्त्रीले हाम्रा माग सम्बाधोन गर्नुहुन्छ भने हामी किन अलग अलग भएर जाने ? त्यो अवस्थामा पार्टीको आधिकारीक निर्णय नै गरेर सहयोग गर्नुपर्छ,’ जसपाका एक कार्यकारिणी सदस्यले भने ।
जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा दुवै पक्षबीच विवाद भएको थियो । अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री ओलीलाई साथ दिएर अगाडी बढनेमा छन भने यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेर ओलीको विकल्प खोज्ने पक्षमा छन् ।




प्रतिक्रिया