काठमाण्डु – नेपाली कांग्रेसले सत्ता समीकरणका लागि दुई राजनीतिक दलहरुसँग छलफल प्रक्रिया अघि बढाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँगको वार्ता अघि बढाएको हो ।
देउवाले आज दिउँसो ३ बजे दुई राजनीतिक दललाई छलफलका लागि बोलाएका छन् । कांग्रेससँग सत्ता सहकार्यका लागि माओवादी केन्द्र तयार रहेपनि जसपाभित्र भने विवाद कायम नै छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर समूहले कांग्रेससँग सत्ता समीकरणका लागि अनिच्छा प्रकट गरेको छ । ठाकुर समूहले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने अडान लिइरहेको छ । यता जसपाका अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केपी शर्मा अोली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।
जसपाले सरकारमा सहकार्य चाहने दलले आफ्ना मागहरु गम्भीरताका साथ पूरा गर्नुपर्ने अडान राख्दै आइरहेको छ । तर, नेपाली कांग्रेसले जसपाका माग पूरा गर्ने विषयमा कुनै चासो देखाएको छैन् । सभापति देउवाले जसपाका मागका विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
कांग्रेसले जसपाको एउटा माग पूरा गर्न नसकिने बताउँदै आएको छ । जेलमा रहेका सांसद रेशम चौधरीलाई छुटाउने विषयमा कांग्रेसले सहमति नगर्ने भएको छ ।
‘ज्यान मारेर जेलमा रहेका व्यक्तिलाई छुटाउने विषयमा कांग्रेसको सहमति हुनै सक्दैन । सत्ताका लागि गलत कदममा साथ दिन सकिँदैन’, कांग्रेसका एक प्रभावशाली नेताले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका सबै माग पूरा गर्ने बताउँदै आएका छन् । सोही अनुसार प्रधानमन्त्री अोलीले वार्ता टोली गठन गरेर आवश्यक प्रक्रिया अगाडि बढाएका छन् । वार्ता सहमति नजिक पुगेको जसपा नेताहरुले बताउँदै आएका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जसपासँगको वार्ता सकारात्मक रहेको बताए । उनकाअनुसार जसपाका सबै माग पूरा गर्ने सरकारको तयारी छ ।
पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् । उनले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग सहमति गरिसकेको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया