फुटको संघारमा जसपा, बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

फुटको संघारमा जसपा, बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। डा. भट्टराई पक्षले असार २८ र २९ मा काठमाण्डुमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । यता उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

 बाबुराम पक्षको २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, सङ्गठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ । उक्त बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ । यता उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाण्डुमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ ।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ । ‘काठमाण्डुमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उनले विज्ञप्ति जारी गरेका छन्।

छुट्टाछुट्टै बैठक बोलाउनुले पनि यी दुबै पक्ष औपचारिक रुपमा अलग हुन लागिएको आँकलन गरिएको छ । यसभन्दा अघि बाबुराम र उपेन्द्रबीच हाँसी हाँसी अलग हुने सहमति भएको थियो । पार्टीबाट अलग हुने पक्षलाई बहुमत पुगेको समुहले कुनै पनि कारबाही नगर्नेसमेत बाबुराम र उपेन्द्रबीच सहमति जुटेको थियो ।