काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेटवार्ता गरेका छन् ।
सोमबार बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
स्रोतकाअनुसार जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुनेछ । जसपाले पूर्व माओवादी केन्द्रका नेताले सम्हालेका गृहबाहेकका ६ वटा मन्त्रालय पाउने छ ।
जसपा सरकारमा जाने विषयमा आजै अन्तिम टुंगो लाग्ने जसपाका एक नेताले जानकारी दिए । जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानेछ ।
प्रतिनिधिसभा जसपाका ३२ जना सांसद रहेका छन् । जसमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद रहेका छन् भने उपेन्द्र यादवको पक्षमा १२ जना सांसद रहेको बताइएको छ ।
गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पूर्व माओवादी केन्द्रका नेताहरुले सम्हालेको थिए ।
सर्वोच्च अदालतले पूर्वमाओवादी केन्द्रका नेतालाई मन्त्रीबाट पदमुक्त गरेपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री अोलीले सम्हालिरहेका छन् ।
नेताहरु शरदसिंह भण्डारी,राजकिशोर यादव,उमाशंकर अरघरिया,अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सुचीमा छन् ।




प्रतिक्रिया