फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ । बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।

उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु ।

महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ । उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।

जसापाको २६ जना केन्द्रीय सदस्यमा २० जना भट्टराई पक्षमा उभिएका छन् । २० जनाले आवाज उठाएपछि यादव केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेका छन् । आन्तरिक विवाद बढ्दै गए पार्टी विभाजनसम्मै पुग्न सक्ने जसपाका केन्द्रीय सदस्य नवराज सुवेदीले बताए ।

यादवको पक्षमा भने सरकारमा सहभागी भएका दुई मन्त्री र एक नेता मात्रै रहेको स्रातले बतायो । यादवको पक्षमा बन तथा बातावरणमन्त्री रामसहाय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र केन्द्रीय कार्यालय समिति सचिव प्रकाश अधिकारीमात्र प्रष्टसँग खुलेका छन् ।

हाल मौन अवस्थामा रहेका अशोक राईले पनि अन्तिम समयमा भट्टराईलाई नै साथ दिने बुझिएको छ । त्यस्तै भट्टराई पक्षले यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै कार्यकारिणी समिति बैठक बोलाउन यादवलाई दवाव दिएको छ । बैठक नबोलाए विधान बमोजिम अघि बढ्ने आफूहरुको तयारी रहेको बाबाुराम निकट नेता सुवेदीको भनाइ छ ।

जसपामा यादव र भट्टराईबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि नै विवाद सतहमा आउन थालेको हो । सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदल बनाउँदा तीन नेताबीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो । तर, यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बनेका थिए ।

मन्त्री बनाउँदा यादवले आफू निकटका नेताहरुकै पनि चित्त बुझाउन सकेका थिएनन् । जसका कारण प्रदीप यादव र मोहम्मत इस्तियाक राई, प्रमोद साह लगायत नेताहरुले असन्तुष्टि पोखेका थिए । प्रदीप यादवले त आफूलाई मन्त्री नबनाएपछि पार्टी कार्यालयमा प्रदर्शन गराउनुका साथै आफ्नै पार्टी अध्यक्षको समेत पुत्ला जलाएका थिए ।

पार्टीमा यादवले सामूहिक भावनाको कदर नगरेकोमा पनि बाबुराम र अशोकपक्ष असन्तुष्ट भएका छन् । पार्टीलाई समाजवादी केन्द्र बनाएर बहस, छलफल गर्दै अघि बढ्नुपर्नेमा यादवले त्यसलाई बेवास्ता गरेको उनीहरुको बुझाइ छ । पार्टीलाई वैचारिक रुपमा समाजवादी केन्द्रको ध्रुवीकरणतिर लैजान नसकिएको नेताहरुको भनाई छ ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनले यो दूरी थप बढाएको छ । यादवले आफू अनुकूल उम्मेदवार बनाएको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको हो । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सुवेदी जान खोजेपनि यादवले उनलाई रोकेर कांग्रेसलाई छाडिदिएका थिए । राष्ट्रिय सभा निर्वाचनपछि जसपामा विवाद थप छताछुल्ल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement