जसपाको विधान महाधिवेशन असारमा गर्ने निर्णय

जसपाको विधान महाधिवेशन असारमा गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन आगामी असारमा गर्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले २०७९ असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ । जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन् ।

साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । पछिल्लो समय नेतृत्वको विषयलाई लिएर जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

बाबुराम भट्टराईले खाली रहेको अध्यक्ष पद मागेपछि जसपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो । उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो– एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु ।

महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ । उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशोक राई पक्षले आवाज उठाउँदै आएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।

जसापाको २६ जना केन्द्रीय सदस्यमा २० जना भट्टराई पक्षमा उभिएका छन् । २० जनाले आवाज उठाएपछि यादव केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेका छन् । आन्तरिक विवाद बढ्दै गए पार्टी विभाजनसम्मै पुग्न सक्ने देखिएको छ ।