काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुने भएको छ ।
पार्टी फुटको संघारमा पुगेका बेला उनीहरुबीच आज दिउँसो १ बजे भेटवार्ता हुने भएको हो । स्रोतका अनुसार यसअघि हिजो बुधबार पनि अध्यक्ष यादव र भट्टराईबीच सिहंदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भेटवार्ता भएको थियो ।
उक्त भेटमा पार्टीको विवाद समाधान गर्नेगरी कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार उक्त भेटमा अध्यक्ष यादव र भट्टराईबीच मिलेर नै पार्टी फुटाउने सहमति भएको छ ।
पछिल्लो समय जसपामा भट्टराई र यादव पक्षबीच टकराव बढ्दै गएको छ । यही असार १३ गते बसेको उपेन्द्र यादव पक्षको बैठकले भट्टराईसहित ४ जनाभन्दा बढी नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि जसपा विवाद निर्णायक मोडमा पुगेको छ ।
जसपा संसदीय दलका प्रमुख सचेतक प्रमोद कुमार साहले बुधबारको भेटवार्तामा दुबै नेताले पार्टीमा एकसाथ रहन नसकिने निष्कर्ष निकालेको बताए ।
‘दवै नेता बाटाे फरक लिने मोडमा पुग्नुभएको छ । उहाँहरु एक साथ रहन नसकिने भन्ने कुरामा निष्कर्षमा पुगिसक्नुभएको छ । बाँकी आजको भेटले निर्णय लिनेछ,’ उनले भने ।
उपेन्द्र यादव पक्षीय बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।
त्यसअघि भट्टराई पक्षले पार्टीमा बहुमत पुर्याए यादवलाई हटाउनेसम्मको प्रयास गरेको थियो । २१ सदस्यीय (दुई जना निलम्बन) संसदीय दलमा बहुमत जुटाएर यादवलाई दलको नेताबाट हटाउने र मन्त्री हेरफेर गर्ने भट्टराईको झन्डै एक महिना देखिको तयारी थियो ।
स्रोतका अनुसार निर्णायक विन्दुमा सांसद इस्तियाक राई र प्रदीप यादव सम्पर्कविहीन भएपछि भट्टराई पक्षलाई आफ्नो रणनीतिअनुसार अगाडि बढ्न सम्भव हुन सकेन ।
यसभन्दा अघि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पुगी बाबुराम भट्टराईले पार्टी विभाजनको नजिक पुगेको जानकारी गराउँदै दल विभाजन सम्बन्धी विधेयक ल्याएर सघाउन आग्रह गरेका थिए ।




प्रतिक्रिया