जसपा विवादमा सुनुवाई हुँदै, रेशम चौधरी पनि निर्वाचन आयोग जाँने

जसपा विवादमा सुनुवाई हुँदै, रेशम चौधरी पनि निर्वाचन आयोग जाँने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगमा आज सुनुवाई हुँदैछ । आयोगले आधिकारिकता विवाद टुंग्याउन  महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्यहरूलाई आफ्नो कार्यालय बोलाएको छ ।

दुबै पक्षका कार्यकारिणी सदस्यहरु अहिले बिहान ११ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोगले दुई पक्षमध्ये कसलाई आधिकारिकता दिने भन्ने टुंग्याउनका लागि प्रत्यक्ष रूपमा कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्ने भएको हो । यस आधारमा जसका पक्षमा बहुमत सदस्य देखिन्छ, उसैलाई जसपाको आधिकारिकता दिने आयोगको तयारी छ ।

यस आधारमा आफ्ना पक्षमा बहुमत ३२ सदस्य रहेको दाबी गर्ने यादव पक्षले दलको आधिकारिकता पाउने लगभग निश्चित देखिन्छ । तर यसका लागि आयोगको निर्णय पर्खेनैपर्ने हुन्छ । जसपामा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य छन् ।

दुई पक्षबीच पार्टीको आधिकारिकता विवाद आयोगमा पुगेपछि समाधानका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरिएको छ । सोही इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै आज बिहान ११ बजे दुवै पक्षलाई आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको हो ।

आयोगको निर्णयविरुद्ध ठाकुर पक्षले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने छलफलका लागि यही साउन १५ गते दुवै पक्षलाई आउन भनेको छ ।

यता कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी पनि निर्वाचन आयोग जाने भएका छन् ।पारिवारिक स्रोतका अनुसार सांसद चौधरी आयोग जाने भएपनि कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका छन् ।

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ ।