यादव पक्षको संसदीय दल र कार्यकारिणी दुवैमा बहुमत पुग्यो, ८ मन्त्रालय लिएर सरकारमा जाने

यादव पक्षको संसदीय दल र कार्यकारिणी दुवैमा बहुमत पुग्यो, ८ मन्त्रालय लिएर सरकारमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग राखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अध्यक्ष यादवले भौतिक योजना, स्वास्थ्य, संचार, उद्योग वाणिज्य तथा आपुर्ती र वनलगायतका मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने माग राखेको स्रोतले बताएको छ ।

शनिबार बसेको जसपाको संसदीय दलको बैठकमा सरकारमा पार्टीको सहभागिताबारे छलफल हुनुको साथै जसपाले यसअघि राखेका संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दाबारेमा प्रधानमन्त्री देउवाको लिखित प्रतिवद्धता आउनुपर्ने धारणा सांसदहरुले राखेका छन् ।

वैठकमा अधिकांश सांसदहरुले सरकारको न्यूनतम साझा कार्यक्रममा नै आफ्ना मागहरुको वारेमा उल्लेख हुनुपर्ने धारणा राखेका थिए । जसपाको संसदिय दलको बैठकमा शनिवार बहुमत सांसदको उपस्थिती रहेको जसपाका नेता इस्तियाक राईले बताए ।

यसअघि जसपामा महन्थ ठाकुरको पक्षमा लागेका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी यादव पक्षमा लागेका छन् । यससंगै जसपाको संसदिय दलमा ३२ जनामध्ये १७ जना यादवको पक्षमा पुगेका छन् । त्यसैगरी ५० सदस्यिय कार्यकारिणीमा ३२ जना र राष्ट्रिय सभाका ३ जना सांदमध्ये २ जना यादवको पक्षमा लागेका छन् । यादवको पक्षमा अरु सांसदहरु पनि थप हुन सक्ने बताइएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा वरावर मन्त्रालय आफुहरुले पाउनुपर्ने अडान पनि जसपाले राख्ने भएको छ । जसपाले एमालेको माधव नेपाल पक्ष सहभागी भए ५ मन्त्रालय र १ राज्यमन्त्री र सहभागी नभएको अवस्थामा ७ मन्त्री र १ राज्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गृह र कानुन, माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने माग राखेको छ । त्यसका साथै अन्य महत्वपूर्ण मन्त्रालयहरुको समेत समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुको माग छ ।

जसपाको आधिकारिकता विवाद अहिले निर्वाचन आयोगमा चलिरहेको छ । आयोगले आइतबारदेखि सुनुवाइ गर्ने कार्यतालिका छ । आयोगमा सनाखत प्रक्रिया पूरा भएलगत्तै जसपा सरकारमा जाने तयारीमा रहेको नेता राईले बताए । जसपाबाट अध्यक्ष उपेन्द्र यादवसहित इस्तियाक राई, राजेन्द्र श्रेष्ठ,प्रदिप यादव,रेणु यादव,महेन्द्र यादव र प्रमोद शाह सरकारमा जाने लगभग निश्चित भइसकेको छ ।