काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यावद पक्षको बैठक बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भन्ने विषयमा छलफल गर्न दिउँसो १ बजे कार्यकारिणी बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतले सोमबार संसद पुनः स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनले देउवा नेतृत्वका सरकारमा सहभागी हुने भन्ने विषयमा पार्टीमा थप छलफल गरेर निर्णय गरिने बताए । ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ, यो निर्णयलाई हामी स्वागत गर्छौं । तर, देउवा नेतृत्वको सरकारमा सहभागी हुने, के के कस्ता मागहरु राख्ने भनने विषयमा पार्टीको बैठकले निर्णय गर्नेछ,’ उनले भने ।
प्रतिनिधिसभा विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको आदेशपछि जसपाको यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष आफ्नो आगामी कदमलाई लिएर अन्योलमा छ । एमाले भित्रको विवाद समाधनउन्मुख रहेका बेला जसपामा पनि एकताका लागि दवाव बढेको छ । दुबै पक्षको विवाद यतिबेला निर्वाचन आयोगमा छ । दुवै पक्षले जसपा विभाजनको औपचारिक निर्णय दिन निर्वाचन आयोगलाई भनिसकेका बेला सर्वोच्चको यो फैसला आएको हो ।
कांग्रेससहितको गठबन्धनमा सहभागी यादव पक्षको जसपामा १२ सांसद रहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका केही सांसद आफूहरुतर्फ आउनसक्ने आकलन उपेन्द्र पक्षले गरेको छ । अर्का अध्यक्ष महन्त ठाकुरपक्ष भने संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्न नपाउने भन्दै बदर गरिदिएको थियो ।
यता देउवाले भने जसपालाई समेत आजै समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया