काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुईतिर लागेपछि जसपा फुटको संघारमा पुगेको हो । यादवले सोमबार विपक्षी गठवन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रसंगै प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने ठाकुर तटस्थ बसेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् ।
सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको मागवमोजिम नयां सरकार गठका लागी बैशाख ३० गते राति ९ बजेसम्मको समय दिइसकेकी छन् ।
राष्ट्रपतिले तीन दिनको समयसिमा दिएसंगै जसपाभित्र भने बिवाद सुरु भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती नै विज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधन नभएसम्म सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा संलग्न नहुने प्रष्ट पारेका छन् ।
उनले यस्तो कार्यबाट झन अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने दावीसमेत गरेका छन् । ठाकुरले राष्ट्रपति कार्यालयलाई आफु नै प्रथम अध्यक्ष भएको र यादवको निर्णय आधिकारीक नभएको पत्र पठाइसेका छन् । यद्यपी यादव समुहले भने दल र पार्टीको कार्यकारिणीमा आफ्नो बहुमत भएको दावी गर्दै आएको छ ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव सत्ताको खेलमा लागेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले नै्र मुद्दाहरु सम्बोधन गरिरहेको बेला कांग्रेस र माओवादी केन्द्रले सुरु गरेको सत्ताको खेलमा लाग्न नहुने बताए ।
यसअघि यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनेका थिए । पछि उनले सम्हालेको मन्त्रालयमा भ्रष्टाचार धेरै बढेको भन्दै प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्यबाट हटाएर कानुनमन्त्रीको जिम्मेवारी दिएका थिए । यादवले पछि पदबाट राजीनामा दिएका थिए ।
स्रोतकाअनुसार उनले प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रालय दिए आफु सरकारमा जान सकिने सन्देश यसअघि पठाएका थिए । तर, पछिल्लो समय उनी माओवादी र कांग्रेसको गठवन्धनमा लागेका छन् । कांग्रेस सभापति देउवाले मंगलवार विपक्षी दलको बैठक बोलाएका थिए । तर,जसपाभित्र आधिकारीकताको बिवाद बढेसंगै उनले उक्त वैठक स्थगित गरेर पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
राष्ट्रपतिलाई पत्र पठाईयो
जसपाका अध्यक्ष महन्थ ठाकुरले जसपाको तर्फबाट राष्ट्रपति कार्यालयमा आधिकारीक पत्र पठाइसकेको स्रोतको दावी छ । जसपाका वरिष्ठ नेता महताले जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबीसहित राष्ट्रपतिलाई पत्र पठाए अध्यक्ष ठाकुरले अर्को पत्र पठाउने बताए । उनले जसपा अहिले सरकार बनाउने पक्षमा नभएको स्पष्ट पारे ।
जसपाभित्र यादव र नेता बावुराम भट्टराई प्रधानमन्त्री ओली प्रतिगमनको नाईके भएको भन्दै उनलाई साथ दिन नहुने बताउंदै आएका छन् । तर,जसपाका अध्यक्ष ठाकुर र महतोले भने आफ्ना मुद्दाको सुनुवाई गर्नेलाई सहयोग गर्ने बताउंदै आएका छन् । नेता महतोले यादवले पार्टी विरोधी गतिविधि गरेकाले उनि कारबाहीको भागिदार हुने बताए ।
जसपामा ठाकुरले आफु पार्टीको प्रथम अध्यक्ष भएको भन्दै छुट्टै पत्र सोमबार राती नै पठाइसको छन् । अव राष्ट्रपति कार्यालयले कुन पत्रलाई आधिकार मान्छ त्यो भने हेर्न बांकी छ । निर्वाचन आयोग र संसदिय दलमा अहिलेसम्म जसपाको तर्फबाट ठाकुरको एकल हस्ताक्षर चल्ने गरेको स्रोतको दावी छ ।
संसदीय दलमा ठाकुरको बहुमत
प्रतिनिधिसभामा सोमबार भएको मतदानमा जसपाका १५ जना सांसद तटस्थ बसेका थिए भने १५ जनाले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरेका थिए । बैठकमा अनुपस्थित २ जनामध्ये एक जना यादव र अर्का ठाकुर पक्षमा रहेको जसपाका नेताहरुले बताएका छन् । जसपाका सांसद लक्ष्मणलाल कर्ण र रोहिनाज अध्यक्ष ठाकुरसंग कुरा गरेर नै अनुपस्थित भएको स्रोतको दावी छ ।
नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार बन्ने सम्भावना कम भएसंगै जसपाभित्र फेरी सांसदहरुको कित्ता परिवर्तन गर्ने क्रम सुरु भएको छ । अहिले ठाकुरको पक्षमा बहुमत बनेको बताइएको छ । ठाकुर पक्षबाट महेन्द्र यादव उपेन्द्रको क्याम्पमा पुगेका छन् । यता उपेन्द्रबाट विमल श्रीवास्तव,उमाशंकर अरघरीया ठाकुर पक्षमा लागेका छन् । त्यसैगरी कलुदेवी विश्वकर्मा र रोहिनाज समेत ठाकुरतर्फ लागेको स्रोतको दावी छ । उनलाई सर्लाहीका नेता अशोक यादवले दबाव दिएकाले सोमबार संसद बैठकमा अनुपस्थित भएको राजपाका एक नेताले बताए ।
यादवको पक्षमा सोमबार देखिएका चन्द्रकान्त चौधरी समेत ठाकुरको पक्षमा लागेका छन् । जसपाभित्र यसअघि निर्णायक मानिएको इस्तियाक राईको समुहले अध्यक्ष यादवलाई सहयोग गरिरहेको छ ।
उनिहरुको समुह भने फुटिसकेको छ । सोमबारको मतदानमा राईसहित रेणु यादव र प्रदिप यादव यादव भने उपेन्द्रको पक्षमा लागेका छन् । यो समुहसंग अहिले पनि ठाकुर पक्षले वार्ता जारी राखेको छ । यदी यो समुह पनि अन्तितमा ठाकुरतिर लागे संसदिय दल र कार्यकारिणी दुवैमा ठाकुरको बहुमत बन्नेछ ।
नेपाली कांग्रेस,माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपाले बहुमतको सरकार बनाृउने तयारी गरेपनि उनिहरुलाई १२ मतको आवश्यकता देखिन्छ । माधव नेपाल पक्षका १८ सांसदले राजीनामा दिएको अवस्थामा मात्र ठाकुर पक्षले साथ नदिए पनि बहुमतको नयां सरकार बन्न सक्छ । त्यसबेला सांसदको कायम संख्या २५३ हुन पुग्छ ।
अहिले ओली नेतृत्वको सरकार बन्न र विपक्षी सरकार बन्न समेत एमालेभित्रको नेपाल पक्ष र जसपाको निर्णायक भुमिका छ । तर, बिहिबारसम्म बहुमतको सरकार नबने ठुलो दलको हिसावले फेरी पनि प्रधानमन्त्रीमा ओलीको नियुक्ती हुने सम्भावना छ । त्यसपछि उनले ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने हुन्छ । त्यो नपाएको खण्डमा फेरी संसदको कुन पनि सदस्यले आफुसंग बहुमत रहेको भन्दै दावी पेश गर्न सक्ने संविधानमा व्यवस्था छ ।
यदी त्यो पनि भएन भने सरकारले फेरी संसद विघठनका लागी राष्ट्रपतिलाई सिफारीस गर्नसक्ने प्रावधान छ । त्यसपछि ५ महिनाभित्र निर्वाचन गनुपर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया