काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ । काठमाण्डुको सोह्खुट्टेस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता प्रदीप यादवले जानकारी दिए ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव समूहका २९ जना सदस्यहरू उपस्थित भएको उनले बताए । आजका लागि तय भएको कार्यकारिणी समितिको बैठक स्थगित भएको भन्दै हिजो अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेका थिए ।
उनको विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित भएको उल्लेख गरिएको थियो तर ठाकुरले विज्ञप्ति निकाले लगत्तै यादवले अर्को विज्ञप्ति निकाली शनिबार बस्ने कार्यकारिणी समितिको बैठक स्थगित नभएको जानकारी गराएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा २९ जना रहेको दाबी गरिएको छ । त्यसैले कार्यकारिणी समितिको बैठक बोलाउन ठाकुर पक्षले आलटाल गर्दै आएको छ।
वैशाख १४ गते बोलाइएको कार्यकारिणी समितिको बैठक ठाकुर पक्षका सदस्यले बहिष्कार गरेका थिए। आजको बैठकमा पार्टी नीतिविपरित जाने ठाकुर पक्षका नेताहरूलाई कारबाही हुन सक्ने बताइएको छ । दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा उभिँदा जसपाको पार्टी एकता धरापमा पर्ने देखिएको छ।




प्रतिक्रिया