जासुस भनि पक्राउ गरिएको आफ्नो परेवा फिर्ता गरिदिन पाकिस्तानी गाउँलेले गरे मोदीलाई आग्रह


एजेन्सी – पाकिस्तानका गाउंलेले आफ्नो परेवा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भन्दै सुरक्षित रुपमा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्।

सोमबार भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले पाकिस्तानले पठाएको जासुसी परेवा कश्मीरको सीमापारि समातेको बताएको थियो। भारत र पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँमा बस्ने एक व्यक्तिले आफूले ईदको बेला उक्त परेवा उडाएको दाबी गरेका छन्।

भारतीय प्रहरीले उक्त परेवाका दुवै खुट्टामा केही सङ्केत अङ्कित औँठी भएको र त्यसको अर्थ पत्ता लगाउन खोजिएको बताईएको छ। उक्त परेवा आफ्नो भएको दाबी गर्ने पाकिस्तानी गाउँलेले उक्त सङ्केत आफ्नो मोबाइल नम्बर भएको बताएका छन्। पाकिस्तानको डन पत्रिकाले ती व्यक्तिको नाम हबिबुल्लाह भएको र उनले एक दर्जन परेवा पालेको जनाएको छ।

उनले परेवा ‘प्रोटोकलअनुसार र सम्मानपूर्वक’ फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।बग्गा गाउँका बासिन्दाले पाल्तु परेवा पक्राउको विरोध गर्दै सीमा क्षेत्रमा दिल्लीको विरोधमा नाराबाजी गरेको समेत बताइएको छ। हबिबुल्लाहले आफ्नो परेवा “शान्तिको प्रतीक“ भएको र भारतले त्यसलाई दुस्ख दिनु नहुने बताएका छन्। सोमवार भारत(प्रशासित कश्मीरका गाउँलेहरूले उक्त परेवा समातेर प्रहरीलाई बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement