काठमाण्डु- सरकारले बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने जानकारी दिएका हुन् ।
नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ । सिंहको जन्म विसं १९३४ भदौ ७ गते बझाङमा भएको थियो ।
यस्तै मन्त्रिपरिषद्काे बैठकले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय समेत गरेको छ।
यस्तै सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ । यस्तै राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने, नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले बताएका छन्।




प्रतिक्रिया